काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिकी सभापति सुम्नीमा उदासले पर्यटन ऐनलाई समयसापेक्ष बनाइनुपर्ने बताएकी छन् ।
पर्यटन कानुन संशोधन विधेयक २०८१ उपर सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम ‘हेलो सांसद’मा बोल्दै उदासले पर्यटन कानुन संशोधन विधेयक २०८१ लाई परिष्कृत र समयसापेक्ष बनाउन समितिले गहन अध्ययन गरिरहेको बताएकी हुन् । उनले प्रस्तावित विधेयकका प्रत्येक दफाहरूमा सुक्ष्म छलफल गरी यसलाई अन्तिम रूप दिने तयारी भइरहेको जानकारी दिइन् ।
उनले भनिन्, ‘पर्यटन कानुन संशोधन विधेयकमा धेरै कुरा मिसिङ भएको छ । यहाँहरु सबैले दिनुभएका सुझावहरु हामी समेट्ने प्रयास गर्नेछौं । यसमा धेरै छलफल गर्न आवश्यक पनि छ । राष्ट्रिय सभाबाट पारित भएको पर्यटन विधेयक प्रतिनिधिसभाबाटै पारित हुन र छलफल हुन बाँकी नै छ । अब छिट्टै हाम्रो समितिमा यो विधेयक आउने छ र हामी यसको प्रत्येक दफामा गहन छलफल गर्ने छौं । पर्यटन ऐनलाई समयसापेक्ष बनाइनुपर्छ ।’
सभापति उदासले नेपालको पर्यटन क्षेत्रलाई विश्वव्यापी स्तरमा प्रतिस्पर्धी बनाउन पुरानो सोचबाट बाहिर निस्कनुपर्ने धारणा व्यक्त गरिन् । उनले नेपालको पर्यटनलाई विविधीकरण गर्न र नयाँ आयामहरू थप्नका लागि आध्यात्मिक पर्यटन जस्ता क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिइन् ।
छलफलका क्रममा उनले पर्यटन क्षेत्रको विकासका लागि स्पष्ट नियामक ढाँचा ( र दिशा निर्देश गर्ने दस्तावेजको आवश्यकता औंल्याइन् । पर्यटन क्षेत्रलाई मापनयोग्य र राष्ट्रिय गौरवको विषय बनाउनका लागि नवीन सोचका साथ अघि बढ्न आवश्यक रहेको उनको भनाइ थियो ।





















प्रतिक्रिया