भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचको दुई गोल सहयोगमा एसी मिलानले इटालियन सिरी ‘ए’ मा नेपोलीमाथि सहज जित निकालेको छ । गएराति भएको खेलमा मिलानले नेपोलीलाई ३-१ को सहज जित निकालेको हो ।
मिलानका लागि अर्को एक गोल जेन्स पिटर हगले गर्दा नेपोलीका लागि ड्रिएस मेर्टिन्सले एक गोल फर्काए । मिलानले खेलको २०औं मिनेटमा ज्लाटनको गोलबाट अग्रता लिएको थियो । उनले थियो हर्नान्डेजको पासमा गोल गरेका थिए ।
५४औं मिनेटमा एन्टी रेविचको पासमा ज्लाटनले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई २-० ले अघि बढाए । सिरी ‘ए’ मा ज्लाटनको यो ६ खेलमा १०औं गोल हो । समग्रमा उनले मिलानका लागि यो सिजन १० खेलमा ११ गोल गरेका छन् ।
याेसँगै ज्लाटानले इटालियन सिरिए ‘ए’ मा दुर्लभ कीर्तिमान बनाएका छन् । लिगको इतिहासमा सिजनको शुरुवाती ६ खेलमा गोल गर्ने उनी मात्र चौथो खेलाडी बनेका हु्न् ।
३९ वर्षीय खेलाडीलाई यूरोपको शीर्ष लिगमध्ये एक मानिने इटालीको लिगका लागि बुढा भएको ठानिएको थियो । तर, उनले सबै आलोचकलाई जवाफ दिँदै यो आफ्नो उत्कृष्ट फर्म जारी राखेका छन् ।
यसअघि यो उपलब्धि फ्लोरेन्टिनाका ग्याब्रियल बाटिसटुटा (सन् १९९४–९५), इन्टर मिलानका क्रिस्टियन भिएरी (सन् २००२–०३) र जेनोआका किर्जिस्टोफ पायाटेक (सन् २०१८–१९) ले हासिल गरेका थिए ।
गत सेप्टेम्बर २१ मा बोलोग्नाविरुद्ध २ गोल गर्दै सिजन सुरुवात गरेका उनले बीचमा केही खेल कोरोनाभाइरसको संक्रमणका कारण गुमाउनुपरेको थियो ।
सिरिए ए को ८ खेलपछि १० गोल गर्ने उनी सबैभन्दा बुढा खेलाडी पनि बनेका छन् । यसअघि यो कीर्तिमान २९ वर्षको उमेरमा सिल्भियो पिओलाले सन् १९४२–४३ सिजनमा बनाएका थिए । यद्यपि, आइतबारको खेल ज्लाटानका लागि पूर्णरुपमा सुखद् भने रहेन । उनले घाइते हुँदै मैदान छाड्न बाध्य भएका थिए ।




















प्रतिक्रिया