Logo

कर्पोरेट फोकस

बैंकिङभन्दा बाहिर नबिलको सामाजिक लगानी : एक वर्षमै झन्डै ५ लाख नागरिक लाभान्वित

स्वच्छ खानेपानीदेखि महिला स्वास्थ्य, युवा उद्यमशीलता, वित्तीय साक्षरता र वातावरण संरक्षणसम्म नबिल बैंक



काठमाडौं । नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सञ्चालन गरेका शिक्षा, स्वास्थ्य, उद्यमशीलता, वित्तीय साक्षरता र वातावरण संरक्षणका कार्यक्रममार्फत आर्थिक वर्ष २०८२/८३ मा ४ लाख २९ हजार ९८८ भन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित भएको जनाएको छ। बैंकले सामाजिक उत्तरदायित्वलाई केवल सहयोग वितरणमा सीमित नराखी समुदायको दीर्घकालीन विकासमा गरिएको सामाजिक लगानीका रूपमा अघि बढाएको उल्लेख गरेको छ।

बैंकका अनुसार विद्यालयमा स्वच्छ खानेपानीको पहुँच विस्तारदेखि छात्राको महिनावारी स्वास्थ्य, युवा उद्यमशीलता प्रवर्द्धन, जलनका बिरामीको उपचार, वित्तीय साक्षरता अभिवृद्धि तथा वातावरण संरक्षणसम्मका कार्यक्रमले समुदायमा प्रत्यक्ष प्रभाव पारेका छन्।

कैलालीको मोतीपुरस्थित राष्ट्रिय नवजागृति माध्यमिक विद्यालयमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ सञ्चालन भएपछि विद्यार्थीले सुरक्षित पिउने पानीको सुविधा पाएका छन्। यसअघि विद्यार्थीहरू घरबाट पानी बोकेर ल्याउन वा विद्यालयबाहिर जानुपर्ने अवस्था रहेकामा अहिले विद्यालयमै शुद्ध खानेपानी उपलब्ध भएपछि विद्यार्थीको स्वास्थ्य, नियमित उपस्थिति र अभिभावकको विश्वासमा सकारात्मक परिवर्तन आएको बैंकले जनाएको छ। यो अभियानमार्फत सातै प्रदेशका १८५ विद्यालयका करिब १ लाख ५० हजार विद्यार्थी लाभान्वित भएका छन्।

त्यस्तै, ‘नबिल सेक्योरिङ हेल्थ एन्ड इम्पावरमेन्ट (एसएचई)’ परियोजनाअन्तर्गत ३५२ विद्यालयका १ लाख ७० हजारभन्दा बढी छात्राले लाभ लिएका छन्। कार्यक्रममार्फत विद्यालयमा सेनेटरी प्याड भेन्डिङ मेसिन जडान, महिनावारी स्वास्थ्यसम्बन्धी सचेतना र छात्रामैत्री वातावरण निर्माण गरिएको बैंकको भनाइ छ।

युवा उद्यमशीलता प्रवर्द्धनका लागि सञ्चालन गरिएको ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (Nabil SEE)’ कार्यक्रमबाट हालसम्म १,५८२ युवाले तालिम लिएका छन्। बैंकका अनुसार यसबाट २४७ भन्दा बढी सामाजिक उद्यम स्थापना भएका छन् भने १८ हजार ८४७ भन्दा बढी रोजगारी सिर्जना भएको छ। तालिमपछि व्यवसाय विस्तार गर्न सफल संखुवासभाकी उद्यमी सुजना कुलुङजस्ता सहभागीले बजार व्यवस्थापन, ब्रान्डिङ र व्यवसाय विस्तारसम्बन्धी नयाँ ज्ञान हासिल गरी आफ्नो व्यवसायलाई नयाँ उचाइमा पुर्‍याएको बैंकले जनाएको छ।

स्वास्थ्य क्षेत्रमा पनि बैंकले जलनका बिरामीको उपचारमा सहयोग गर्दै आएको छ। गत आर्थिक वर्षमा सञ्चालन गरिएको बर्न सर्जिकल क्याम्पमार्फत ४९४ जनाले विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गरेका थिए। तीमध्ये १३० जनाको शल्यक्रिया गरिएको थियो भने ३७ जनालाई थप उपचारका लागि रिफर गरिएको बैंकले जानकारी दिएको छ।

वित्तीय साक्षरता विस्तारलाई पनि बैंकले प्राथमिकतामा राखेको छ। देशभर सञ्चालन गरिएको अभियानमार्फत ३५ हजार ४०० भन्दा बढी व्यक्तिलाई प्रत्यक्ष वित्तीय साक्षरता तालिम प्रदान गरिएको छ भने रेडियो कार्यक्रममार्फत करिब ४१ लाख श्रोतासम्म वित्तीय सचेतना पुर्‍याइएको बैंकको दाबी छ।

यसका अतिरिक्त छात्रवृत्ति, पुस्तकालय स्थापना, ब्रेल शैक्षिक सामग्री वितरण, स्वास्थ्य शिविर, रक्तदान, कृत्रिम अङ्ग सहयोग, मोतियाबिन्दु शल्यक्रिया, महिला सशक्तीकरण तथा सीप विकासजस्ता कार्यक्रम पनि सञ्चालन गरिएको जनाएको छ।

वातावरण संरक्षणतर्फ बैंकले ७ हजारभन्दा बढी बिरुवा रोप्नुका साथै नेपाली सेनासँगको सहकार्यमा हिमाल सफाइ अभियान र बागमती करिडोर संरक्षणमा समेत योगदान दिएको उल्लेख गरेको छ। साथै भूकम्प, बाढी र कोरोना महामारीजस्ता विपद्का समयमा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग, अक्सिजन प्लान्ट स्थापना, अस्थायी आवास निर्माण तथा राहत सामग्री वितरणमार्फत पनि सहयोग गरेको जनाएको छ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणाअनुसार सामाजिक उत्तरदायित्वलाई दीर्घकालीन सामाजिक लगानीका रूपमा अघि बढाइएको बताए। उनका अनुसार स्वच्छ खानेपानी, स्वास्थ्य, शिक्षा, युवा उद्यमशीलता र वित्तीय साक्षरताजस्ता कार्यक्रम समुदायको वास्तविक आवश्यकता पहिचान गरी सञ्चालन गरिएको हो।

बैंकका अनुसार सामाजिक उत्तरदायित्वको प्रभाव खर्च गरिएको रकमले मात्र होइन, स्वच्छ खानेपानी पाएका विद्यार्थी, उपचारपछि सामान्य जीवनमा फर्किएका बिरामी, उद्यम सुरु गरेका युवा र वित्तीय रूपमा सचेत बनेका नागरिकको जीवनमा आएको परिवर्तनबाट मापन गर्न सकिन्छ। यिनै कार्यक्रममार्फत बैंकले बैंकिङ सेवाभन्दा बाहिर समुदायसँगको दीर्घकालीन साझेदारीलाई थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।

प्रकाशित मिति : १० श्रावण २०८३, आईतवार १९:००   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।