काठमाडौं । शशांक कोइरालाको नेतृत्वमा नयाँ कांग्रेस गठनको तयारी तीव्र बनेको छ। शनिबार चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमार्फत २९ देखि ३१ साउनसम्म राष्ट्रिय भेला आयोजना गरिने घोषणा गर्दै ५५१ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति गठन गरिएको जानकारी दिइएको हो।
पत्रकार सम्मेलनमा बोल्दै शशांक कोइरालाले उक्त राष्ट्रिय भेलामा शेखर कोइराला पनि सहभागी हुने बताए। उनले पार्टीभित्र लामो समयदेखि उठ्दै आएका असन्तुष्टि, वैचारिक बहस र संगठनात्मक सुधारका एजेन्डालाई केन्द्रमा राखेर नयाँ राजनीतिक पहल अघि बढाइएको दाबी गरे।
यस घटनाक्रमसँगै नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप गहिरिँदै गएको विश्लेषण गरिएको छ। नयाँ कांग्रेस गठनको तयारीले पार्टी विभाजनको सम्भावनालाई बल दिएको राजनीतिक वृत्तमा चर्चा छ।
यसबीच गगन थापा भने पार्टी एकताको पक्षमा सक्रिय रूपमा देखिन नसकेको टिप्पणी पनि हुन थालेको छ। यद्यपि, यस विषयमा गगन थापाले औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन्।
आगामी राष्ट्रिय भेलाले नयाँ दल घोषणा गर्ने वा कांग्रेसभित्रै वैकल्पिक धार निर्माण गर्ने भन्ने विषय भने भेलापछि मात्र स्पष्ट हुने अपेक्षा गरिएको छ।




















प्रतिक्रिया