Logo

अर्थ

खराब कर्जाको दलदलमा प्रभु बैंक, २४ करोड घाटा र ६ अर्ब ३१ करोड सञ्चित नोक्सानी



काठमाडौं । प्रभु बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक वित्तीय विवरणअनुसार बैंक घाटामा गएको छ ।

असार मसान्तसम्ममा बैंक २४ करोड १२ लाख ४३ हजार रुपैयाँ खुद घाटामा छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकले ८७ करोड २३ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चौथो चौथो त्रैमाससम्म बैंकको निष्क्रिय कर्जामा उलेख्य वृद्धि भएको छ । अघिल्लो वर्ष ७.०१ प्रतिशत रहेको निष्क्रिय कर्जा दोब्बरभन्दा बढीले बढेर १५.५५ प्रतिशत पुगेको छ । निष्क्रिय कर्जा उच्च रुपमा बढेपछि बैंकले  ४ अर्ब ९४ करोड रुपैयाँ प्रोभिजनका लागि  छुट्याउनु परेको छ।  जसका कारण नाफा ऋणात्मक भएको छ । अघिल्लो आर्थिक बर्षमा २ अर्ब ४० करोड रूपैयाँ मात्र प्रोभिजन थपेको बैंकले आवमा झन्डै ५ अर्ब रूपैयाँ प्रोभिजन थप्नु परेको छ। यसबाट पनि बैंक खराब कर्जाको दलदलमा रहेको देखाउँछ। ड्यामेज कन्ट्रोलका लागि  बैंकले समिक्षा अवधिमा जम्मा १५ प्रतिशत खराब कर्जा रहेको विवरण सार्वजनिक गरेपनि वास्तविक एनपीएल २७ प्रतिशतमाथि रहेको बताइएको छ ।

समिक्षा अवधिमा  बैंकको सञ्चित नोक्सानी झन्डै ३ गुणाले बढेर ६ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ छ । अघिल्लो वर्षसम्म यस्तो नोक्सानी २ अर्ब ५६ करोड रुपैयाँ मात्र रहेको थियो थियो ।

यस अवधिमा  बैंकले प्रवाह गरेको कुल कर्जा तथा ब्याजदर स्प्रेड घटेको बैंकको खुद ब्याज आम्दानी भने सामान्य बढेको छ । अघिल्लो वर्ष ७ अर्ब १९ करोड ७८ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत वर्ष बढेर ९ अर्ब २६ करोड ५७ लाख रुपैयाँ पुगेको छ । बैंकको खुद फि तथा कमिसन आम्दानी  २ अर्ब २१ करोड रूपैयाँ छ ।

घाटामा गएको प्रभु बैंकको प्रतिसेयर आम्दानी पनि ऋणात्मक छ । गत वर्ष ३.७१ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी रहेको बैंकको इपीएस घटेर  १.०२ रुपैयाँ ऋणात्मक भएको छ।

बैंकको प्रतिसेयर नेटवर्थ १४०.९२ रुपैया  रहेको छ । प्रतिसेयर नेटवर्थमा आएको उलेख्य गिरावटले गत वर्ष ६.६७ प्रतिशत रहेको आधार दर यो वर्ष ४.९९ प्रतिशतमा झरेको छ । त्यस्तै, स्प्रेड दर ३.७३ प्रतिशतबाट घटेर ३.२८ प्रतिशतमा सिमीत छ ।

समिक्षा अवधिसम्ममा बैकको  पुँजी कोष अनुपात १२.५० प्रतिशतबाट घटेर ११.८३ प्रतिशतमा झरेको छ भने  प्राथमिक पुँजी अनुपात ८.८३ प्रतिशत मात्र छ ।

बैंकको  तरलता अनुपात ७०.७८ प्रतिशतबाट घटेर ६७.८६ प्रतिशतमा झरेको छ । यसले बैंक कर्जा लगानी गर्न असक्षम रहेको देखाउँछ।

प्रभु बैंकले  चौथो त्रैमासमा मात्र २ अर्ब १७ करोड रूपैयाँ प्रोभिजन थप्नु परेको छ । बैंकको बक्यौता ब्याज  र गैरबैंकिङ सम्पत्ति पनि उलेख्य मात्रामा बढेपछि बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक अवस्थामा छ । समिक्षा अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ६ अर्ब ३१ करोड रुपैयाँले ऋणात्मक बनेको छ।

गत आवमा बैंकले ३ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा प्रवाह  घटेर २ खर्ब १४ अर्ब रुपैयाँमा सीमित भएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार ११:४८   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।