Logo

प्रमुख समाचार

बाढीपहिरो प्रभावित डिसहोम ग्राहकलाई थप १५ दिन निःशुल्क इन्टरनेट



काठमाडौं। विनाशकारी बाढीपहिरोबाट प्रभावित क्षेत्रका ग्राहकलाई लक्षित गर्दै डिसहोमले निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ।

प्राकृतिक विपद्का कारण दैनिक जनजीवन प्रभावित भइरहेका बेला सूचना, सञ्चार तथा आपत्कालीन समन्वयमा इन्टरनेट सेवाको महत्त्वलाई ध्यानमा राख्दै कम्पनीले प्रभावित ग्राहकलाई थप १५ दिन निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने जनाएको हो।

कम्पनीका अनुसार डिसहोम इन्टरनेटको पहुँच पुगेका प्रभावित क्षेत्रका ग्राहकले उक्त सुविधा पाउनेछन्। निःशुल्क सेवा उपलब्ध हुने क्षेत्रहरूमा त्रिशूली, त्रिशूली बजार, गल्छी, आदमघाट र मालुखु रहेका छन्।

डिसहोमले विपद्को कठिन परिस्थितिमा आफ्ना ग्राहक तथा प्रभावित समुदायसँगै उभिँदै सेवा निरन्तरता, सूचना पहुँच र आवश्यक सञ्चारमा सहजता प्रदान गर्नु आफ्नो सामाजिक उत्तरदायित्वको महत्त्वपूर्ण हिस्सा भएको जनाएको छ।

कम्पनीले प्रभावित ग्राहकलाई विषम परिस्थितिमा धैर्यधारण गर्न आग्रह गर्दै सेवा तथा प्राविधिक सहयोगका लागि सम्बन्धित सेवा केन्द्र तथा आधिकारिक ग्राहक सेवा माध्यमबाट सम्पर्कमा रहन अनुरोध गरेको छ।

यसैबीच, भदौ १० गते रसुवाको भोटेकोशी हुँदै तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति डिसहोमले दुःख, सहानुभूति र ऐक्यबद्धता व्यक्त गरेको छ।

बाढीपहिरोपछि उद्धार, राहत तथा पुनःस्थापनामा अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायप्रति पनि कम्पनीले धन्यवाद व्यक्त गरेको छ।

प्रकाशित मिति : १४ भाद्र २०८३, आईतवार २०:४५   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।