काठमाडौं । नबिल बैंक लिमिटेडले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ५.५ प्रतिशत नबिल डिबेञ्चर २०९३ निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
ऋणपत्र निष्कासनसम्बन्धी सम्झौतामा मंगलबार नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइटेलले हस्ताक्षर गरेका छन्।
बैंकका अनुसार प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले ४० लाख कित्ता ऋणपत्र निष्कासन गरिनेछ। १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ५.५ प्रतिशत ब्याजदर तोकिएको छ।
कुल निष्कासनमध्ये २४ लाख कित्ता ऋणपत्रबाट २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपुँजी व्यक्तिगत तवरबाट बिक्री गरिनेछ।
त्यस्तै, १६ लाख कित्ता ऋणपत्रबाट १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपुँजी सार्वजनिक निष्कासनमार्फत बिक्री गरिने बैंकले जनाएको छ। यसमध्ये ५ प्रतिशत अर्थात् ६५ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
नबिल बैंकका अनुसार बैंकले देशभरका २६३ शाखा र ३१५ एटीएममार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। चार दशकदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समय ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणालाई अघि बढाउँदै आएको जनाएको छ।
















प्रतिक्रिया