काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी रोहित गुप्तालाई २ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा न्यायाधीशद्वय हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधबार गुप्तालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
सोही मुद्दामा हिमालयन रिइन्स्योरेन्स कम्पनीका अध्यक्ष शेखर गोल्छा र सञ्चालक समिति सदस्य शुभेच्छा खरेल धरौटी बुझाएर रिहा भइसकेको अवस्थालाई पनि सर्वोच्चले आधार बनाएको छ।
गुप्ताको संलग्नताको तह र हद हेर्दा उनलाई थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउनुपर्ने अवस्था नदेखिएको अदालतको आदेशमा उल्लेख छ।
अभियोगअनुसार गुप्ताले गैरकानुनी उद्देश्यमा सहयोग पुग्ने गरी आफ्नो टीएमएस खाता ब्रोकर नम्बर ५५ मा नरहँदा पनि ५२ करोड ५० लाख रुपैयाँ सेयर बजारमा लगानी गर्न उपलब्ध गराएका थिए।
त्यस्तै, हिमालयन रिइन्स्योरेन्स कम्पनीबाट २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ उक्त ब्रोकर कम्पनीमा पठाई ब्रोकर कम्पनीमार्फत दीपक भट्टलगायतका नाममा सेयर खरिद गराउने कार्यमा संलग्न रहेको आरोप गुप्तामाथि छ।
सर्वोच्चको आदेशसँगै गुप्ता २ करोड रुपैयाँ धरौटी बुझाएर मुद्दाको पुर्पक्षका लागि रिहा हुने भएका छन्।
















प्रतिक्रिया