Logo

समाचार

कालु कुमालेलाई जीवित सम्पदाका रूपमा सम्मान गर्ने सरकारको तयारी थियो: मन्त्री पौडेल



काठमाडौं । मंगलबार निधन भएका क्रोधकला शिरोमणि अग्रज कलाकार कालु कुमालेप्रति राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरिएको छ । धातुका विशालकाय क्रोधित देवताको मूर्तिकला बनाएर प्रख्यात क्रोधकला शिरोमणि कुमालेको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पणका लागि बुधबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको प्राङ्गणमा राखिएको थियो ।

प्रतिष्ठानका पदाधिकारीहरूले राष्ट्रिय झण्डा ओढाएर कुमालेप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यस्तै कलाकारहरूले पनि उनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

यसैगरी पर्यटन मन्त्री तथा सांसदहरु समेत अन्तिम श्रद्धाञ्जली अर्पण गर्न नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको प्राङ्गणमा पुगेका थिए ।

श्रद्धाञ्जली अर्पण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस) ले अग्रज कलाकार कालु कुमालेको निधनले समग्र नेपाली कला क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए ।

उनले भने, ‘प्रस्तरकला शिरोमणिका रूपमा परिचित कालु कुमालेजीको देहावसानले हामी अत्यन्त मर्माहत भएका छौं । सरकारले उहाँलाई जीवित सम्पदाका रूपमा सम्मानित गर्ने तयारीस्वरूप विधेयकलाई अन्तिम चरणमा पुर्याएको थियो र सोहीअनुसार आवश्यक प्रावधान र प्रक्रियाहरू पनि अघि बढाइएको थियो ।’

मन्त्री पौडेलले प्रस्तरकला नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै कुमालेले भगवान्का मूर्तिहरू बनाएर ईश्वरकै निर्माण गरेको स्मरण गरे ।

‘भगवान् बनाउने मान्छे, अर्थात् भगवान् सरहकै व्यक्तित्व आज हामीमाझ रहनुभएन । यो क्षतिलाई शब्दमा व्यक्त गर्न सकिँदैन र यसको कुनै परिपूर्ति पनि हुन सक्दैन,’ उनले भने ।

कुमालेले निर्माण गरेका सिर्जना र देखाएको बाटोमार्फत उनी सधैं जीवित रहने बताउँदै मन्त्री पौडेलले कुमालले जोगाउन खोजेको सम्पदालाई चीरकालसम्म संरक्षण गर्दै नयाँ पुस्ता तयार पारेर उनको सपना पूरा गर्नु सबैको दायित्व भएको बताए ।

मन्त्री पौडेलले दिवंगत आत्माको वैकुण्ठ बासको कामना गर्दै शोकसन्तप्त परिवारजन तथा समस्त कलाप्रेमीहरूमा गहिरो समवेदना र कुमालेप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे ।

उनको मङ्गलबार ९४ वर्षको उमेरमा निधन भएको हो ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार १४:५७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।