जनकपुर । जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरको संरक्षण तथा व्यवस्थापनको जिम्मेवारी लिने विषयमा सरकारी निकायबीच देखिएको अन्योल र हानथापका कारण यस वर्षको विवाहपञ्चमी महोत्सव प्रभावित हुन सक्ने भन्दै मन्दिरका महन्थ राम तपेश्वर दासले चिन्ता व्यक्त गरेका छन् ।
विवाहपञ्चमी महोत्सव नजिकिँदै गर्दा मन्दिरको रंगरोगन, मर्मत तथा आवश्यक तयारीका विषयमा महन्थ दास अन्योलमा परेका छन् । प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सवअघि जानकी मन्दिरमा रंगरोगन तथा आवश्यक मर्मतसम्भारका काम हुने गरिन्थ्यो । यस्ता काम सम्पन्न गर्न एक महिनाभन्दा बढी समय लाग्ने गरेको मन्दिरका महन्थ दासको भनाइ छ ।
तर, यसपटक पुरातत्व विभागले जानकी मन्दिरमा केही दिन अघि मात्र पत्र पठाएर अब प्राण्त मन्दिरमा कुनै पनि किसिमको रंगरोगन, मर्मत वा अन्य काम नगर्न भन्दै पत्राचार गरेको छ ।
मन्दिरको जीर्णोद्धार, रंगरोगनलगायतका काम अब पुरातत्व विभागले नै गर्ने बताइएको महन्थ दासले बताए । उनले नेपाल सरकारले केही दिनअघि मात्रै जानकी मन्दिरलाई संरक्षित क्षेत्र घोषणा गरेपछि मन्दिरको संरक्षण र व्यवस्थापनको जिम्मेवारीबारे अब सरकारको हो कि ? पुरातत्व विभागको वा स्वयम मन्दिरको हो ? भन्ने आफू अन्योलमा रहेको बताए ।
विवाहपञ्चमी महोत्सवको तयारीका लागि समय कम हुँदै गएको अवस्थामा मन्दिरमा रंगरोगन तथा आवश्यक मर्मतसम्भारको काम सुरु हुन नसक्दा महोत्सवको तयारी प्रभावित हुन सक्ने महन्थ दासले चिन्ता त्यत्त गरेका छन् ।
उनले भारतसहित विभिन्न देशबाट लाखौंको श्रद्धालु आउने गरेको महोत्सवको व्यवस्थापन अब कसले गर्ने र कसरी अनि कहिलेसम्म हुने भन्ने अन्योल सृजना भएको बताएका छन् ।
महन्थ दासले संरक्षणको जिम्मेवारी लिने सरकारी निकायले सम्पूर्ण कामको जिम्मेवारी लिएर विवाहपञ्चमी महोत्सवलाई सफल बनाउने हो भने अहिले देखिनै सबै काम सुरु गर्नुपर्ने बताए ।
तर हालसम्म कुनै निकाय उपस्थित भएर रंगरोगन लगायतका कामहरु अगाडि नबढाएकोले यस वर्ष मन्दिरप्रतिको विश्वास श्रद्धालुसमक्ष कम हुनसक्ने महन्थ दासले चिन्ता जाहेर गरेका छन् ।
विवाहपञ्चमी जनकपुरधामको प्रमुख धार्मिक तथा सांस्कृतिक महोत्सव हो । नेपाल तथा भारतका विभिन्न स्थानबाट ठूलो संख्यामा श्रद्धालु तथा साधुसन्त जनकपुरधाम आउने यस पर्वका लागि जानकी मन्दिरले प्रत्येक वर्ष बारातीदेखि लिएर श्रद्धालुभत्तजनहरुको खाने बस्ने, विवाह महोत्सव मनाउनेलगायतका कार्यहरुको व्यवस्थापन गर्दै आएको छ । तर यसवर्ष अहिलेसम्म कुनै कामको सुरुवात पनि भएको छैन ।



















प्रतिक्रिया