Logo

मनोरञ्जन

गीतविरुद्ध उजुरी परेपछि खेम सेन्चुरी २ घन्टा साइबर ब्यूरोमा



काठमाडौं । चर्चित लोकगायक खेम सेन्चुरीलाई साइबर ब्यूरोले उनको गीत ‘बाहुन बाजे किन कसेको’ बारे परेको उजुरीका सम्बन्धमा बोलाएर सोधपुछ गरेको छ।

सेन्चुरीको रचना, स्वर र संगीत रहेको उक्त गीत करिब एक महिनाअघि युट्युबमा सार्वजनिक भएको हो। गीतले बाहुन समुदायलाई होच्याएको आरोप लगाउँदै हिन्दुवादी अभियन्ता सागर थापाले साइबर ब्यूरोमा उजुरी दिएका थिए।

उजुरीमा गीतले सनातन हिन्दु समुदायबीचको एकता र सद्भावमा असर पार्न खोजेको दाबी गरिएको छ। विशेषगरी गीतमा प्रयोग भएको ‘खान्छौ कि खान्नौ बंगुरको मासु, लौ खाऊ न त सुंगुरको मासु’ भन्ने पंक्तिप्रति आपत्ति जनाइएको छ।

उजुरीमाथि छलफल गर्न साइबर ब्यूरोले सेन्चुरीसहित दुवै पक्षलाई बोलाएको थियो। छलफलमा हिन्दु जागरण नेपालका अध्यक्ष पं. रामकृष्ण उपाध्याय, भागवत कथावाचक आचार्य मुकुन्द नेपाल, विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापा र ओम सनातन संस्कृति समाजका अध्यक्ष रोजबहादुर मोक्तानलगायत सहभागी थिए।

ब्यूरोमा भएको छलफलबाट भने कुनै निष्कर्ष निस्किएको छैन। गीत संशोधन गर्ने वा हटाउने विषयमा थप छलफलका लागि दुवै पक्षलाई बिहीबार दिउँसो १ बजे पुनः बोलाइएको साइबर ब्यूरो स्रोतले जनाएको छ।

साइबर ब्यूरोका प्रवक्ता एसपी दिलीप गिरीले सेन्चुरीलाई बोलाएर गीतसम्बन्धी विषयमा छलफल गरिएको पुष्टि गरेका छन्।

 

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलवार २१:३२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।