सप्तरी । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राजविराज क्षेत्रका जीर्ण सडकको तत्काल मर्मतसम्भार तथा स्तरोन्नति गर्न र बिटौरी जग्गाधनीलाई लालपुर्जा वितरणको प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
जिल्ला प्रशासन कार्यालयमा सोमबार सरोकारवाला कार्यालयका प्रमुख तथा जनप्रतिनिधिसँग भएको बैठकमा मन्त्री यादवले यस्तो आग्रह गरेका हुन्।
चाडपर्वको समयमा समेत राजविराजदेखि छिन्नमस्ता भगवती मन्दिर, कङ्कालिनी मन्दिर, रुपनी र कञ्चनपुरलगायत १२ स्थानका सडक जीर्ण हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको उनले बताए।
यात्रुको आवागमन सहज बनाउन ती सडकको मर्मतसम्भार र स्तरोन्नतिको काम तत्काल अघि बढाउन उनले सम्बन्धित निकायलाई निर्देशनात्मक आग्रह गरे।
बैठकमा मन्त्री यादवले लालपुर्जाविहीन नगरवासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने प्रक्रिया पनि अघि बढाउनुपर्नेमा जोड दिए। उनका अनुसार जग्गा दर्तासम्बन्धी गठन आदेश, २०८३ मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ।
सोही व्यवस्थाअनुसार राजविराज नगर क्षेत्रका बिटौरी जग्गाधनीलाई दसैँअघि नै लालपुर्जा वितरण गर्ने गरी आवश्यक प्रक्रिया सुरु गर्न उनले आग्रह गरे।
बैठकमा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परवीन, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डल, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी र प्रहरी प्रमुख रूपक खड्कालगायत सहभागी थिए।
त्यसैगरी भूमि प्रशासन, नापी, सडक विभाग तथा पूर्वाधार विकास कार्यालयका प्रमुख र राष्ट्रिय स्वतन्त्र पार्टीको राजविराज नगर समितिका सभापति खेलानन्द दास पनि बैठकमा उपस्थित थिए।




















प्रतिक्रिया