Logo

कर्पोरेट फोकस

एशियन लाइफका सीईओ दिनेशलाल श्रेष्ठले दिए राजीनामा, प्रभु बैंक जाने चर्चा



काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेशलाल श्रेष्ठले पदबाट राजीनामा दिएका छन्। कम्पनी सञ्चालक समितिको कात्तिक ५ गते बसेको २३३औँ बैठकले उनको राजीनामा स्वीकृत गरेको हो। उनको राजीनामा कात्तिक १० गतेदेखि लागू हुनेछ।

श्रेष्ठले कार्यकाल बाँकी रहँदै इन्स्योरेन्स कम्पनी छाड्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। उनी प्रभु बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) बन्ने तयारीमा रहेको चर्चा छ। प्रभु बैंकका प्रमुख सेयरधनी शशिकान्त अग्रवाललगायतले श्रेष्ठलाई उक्त पदमा ल्याउन पहल गरेको दाबीसमेत गरिएको छ। यद्यपि, श्रेष्ठको राजीनामा र प्रभु बैंकमा सम्भावित नियुक्तिबारे सम्बन्धित पक्षबाट औपचारिक पुष्टि भएको छैन।

श्रेष्ठको राजीनामापछि एशियन लाइफले नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठलाई नयाँ सीईओ नियुक्त नहुँदासम्मका लागि कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ।

कम्पनीले सीईओको राजीनामा र कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीसम्बन्धी जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से), नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रारको कार्यालय तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई गराएको जनाएको छ।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार १३:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।