Logo

प्रमुख समाचार

रास्वपासहित विभिन्न दलका सयभन्दा बढी नेता–कार्यकर्ता उज्यालो नेपालमा प्रवेश



रामेछाप । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको जन्मगाउँमा विभिन्न राजनीतिक दलका सयभन्दा बढी व्यक्ति उक्त पार्टीमा प्रवेश गरेका छन् ।

विजयादशमी तथा दीपावलीको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र श्रम संस्कृति पार्टीलगायत दलमा आबद्ध व्यक्तिहरू उज्यालो नेपालमा प्रवेश गरेका हुन् । उनीहरूलाई पार्टी अध्यक्ष घिसिङले स्वागत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले आफ्नो जन्मभूमि र गाउँवासीको माया, विश्वास तथा प्रेरणा सार्वजनिक जीवनका महत्वपूर्ण आधार रहेको बताए । उनले सुशासन, आर्थिक समृद्धि र राष्ट्रिय रूपान्तरणको अभियानमा साथ दिन गाउँवासीलाई आग्रह गरे ।

नेपालको आर्थिक रूपान्तरणका लागि ‘हरित क्रान्ति’ आवश्यक रहेको उल्लेख गर्दै घिसिङले उत्पादनमुखी अर्थतन्त्रको विकास, स्वदेशी स्रोतसाधनको अधिकतम उपयोग र रोजगारी सिर्जनामा जोड दिए ।

उनले आफ्नो पार्टीले राजनीतिक तथा वैचारिक रूपमा मध्यमार्गी बाटो अवलम्बन गर्ने पनि बताए ।

स्थानीय नागरिक, शुभेच्छुक तथा पार्टीका नेता–कार्यकर्ताको सहभागिता रहेको कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए  ।

कार्यक्रममा स्थानीय अगुवा तथा पार्टीका विभिन्न तहका नेताहरूले चाडपर्वको शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ७ कार्तिक २०८३, शनिबार ०९:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।