Logo

शिक्षा

६ हजार शिक्षकको बढुवा उजुरी पुनरावलोकन हुँदै



काठमाडौं । शिक्षक सेवा आयोगले बढुवाको योग्यताक्रम सूचीमा परेका करिब ६ हजार शिक्षकका उजुरीमाथि पुनरावलोकन गरी नतिजा प्रकाशन गर्ने काम तीव्र पारेको छ। कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने ७५ प्रतिशततर्फको बढुवा नतिजा क्रमशः सार्वजनिक भइरहेको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता परशुराम तिवारीका अनुसार बढुवा सिफारिस समितिको सचिवालयबाट भएका निर्णयका आधारमा योग्यताक्रम सूची प्रकाशन भइरहेको हो।

‘शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८’ को संशोधित व्यवस्थाअनुसार प्राप्त कागजात र प्रमाण अध्ययन गरी सम्बन्धित जिल्ला तथा तहका शिक्षकको बढुवा नतिजा कायम गरिँदै आएको आयोगले जनाएको छ।

विभिन्न प्रदेशका शिक्षा विकास निर्देशनालयले गरेको कार्यसम्पादन मूल्याङ्कनविरुद्ध परेका उजुरी अध्ययन तथा छानबिन गरेर आयोगले पुनरावलोकनको नतिजा सार्वजनिक गर्दै आएको छ। तर, पछिल्लो छ महिना आयोगका पदाधिकारी रिक्त हुँदा यो प्रक्रिया रोकिएको थियो।

आयोगले यसै कात्तिकमा माध्यमिक द्वितीय तहअन्तर्गत इलाम, सुनसरी, झापा र सोलुखुम्बुको पुनरावलोकन नतिजा प्रकाशन गरेको छ। यसअघि असोज २९ गते प्राथमिक द्वितीय तहअन्तर्गत लमजुङ, बागलुङ, गोरखा, नवलपरासी बर्दघाट सुस्ता पूर्व र कास्कीको नतिजा सार्वजनिक गरिएको थियो।

सरकारले भदौ २५ गते डा. हरिप्रसाद लम्साललाई आयोगको अध्यक्ष नियुक्त गरेको थियो। यसअघि वैशाख १८ गते जारी ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ का कारण आयोगका पदाधिकारी पदमुक्त भएका थिए। पदाधिकारी रिक्त भएपछि रोकिएको पुनरावलोकन प्रक्रिया नयाँ नियुक्तिसँगै अघि बढेको हो।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार १४:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।