काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको सिजन थ्रीको प्लेअफमा कुन कुन टोली पुग्लान् भन्ने कौतुहल रोचक बनेको छ । हरेक टोलीले कम्तीमा पाँच पाँच खेल खेलिसकेका छन् । कुल आठ टोली सहभागी प्रतियोगितामा हरेक टोलीले सात खेल खेल्नेछन् ।
त्यसमध्ये शिर्ष चार मा रहने टोली प्लेअफमा पुग्नेछन् । अहिलेसम्म जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सले छ छ वटा र बाँकीले पाँच पाँच वटा खेल खेलेका छन् ।
पछिल्लो खेलमा जनकपुरलाई हराउँदै सुदूरपश्चिम तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शिर्ष स्थानको काठमान्डु गोर्खाजसँग समान आठ अंक भए पनि रन औसतका आधारमा काठमान्डु पहिलो र सुदूरपश्चिम दोस्रो स्थानमा छन् ।
यी २ टोलीको प्ले अफमा पुग्ने निश्चित भए पनि उनीहरु सकेसम्म पहिलो नभए पनि दोस्रो स्थानमा रहँदै प्ले अफमा पुग्न चाहन्छन् । किनभने पहिलो र दोस्रो स्थानका टोलीबिच हुने प्लेअफमा पराजित भएको खण्डमा पनि फाइनलमा पुग्ने एक मौका बाँकी नै रहन्छ ।
यो खेल जित्ने टोली फाइनल पुग्छ भने पराजित हुने टोलीले दोस्रो र तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेका टोलीबिचमा हुने दोस्रो प्लेअफको विजेतासँग खेल्न पाउने छ र उक्त खेल जितेमा फाइनल पुग्न सकिने बाटो बाँकी नै रहनेछ ।
कुन कुन टोलीको बाँकी छ सम्भावना
प्रतियोगिताबाट पोखरा बाहिरिइसकेको छ । यस्तै जनकपुरलाई पनि अब प्लेअफमा पुग्ने सम्भावना गणितमा मात्र बाँकी छ । पाँचमध्ये एक खेल मात्र जितेको पोखरा तालिकाको पुछारमा छ । बाँकी दुबै खेल जितेपनि ऊ शिर्ष ४ मा अटाउन सक्ने सम्भावना छैन । तर पोखराले कुन कुन टोलीलाई जित्छ वा जित्दैन भन्ने कुराले बाँकी टोलीको प्लेअफको सम्भावनामा भने फरक पार्नेछ ।
यस्तै जनकपुरले खेलेका छ मध्ये २ खेल मात्र जितेको छ । बाँकी खेल जितेपनि उसको प्लेफमा पुग्ने सम्भावनाका लागि गणितीय सम्भावना मात्र बाँकी रहन्छ ।
यस्तै लुम्बिनीले पाँचमध्ये तीन खेल जितेर तेस्रो स्थानमा छ भने विराटनगर, चितवन र कर्णालीले पाँचमध्ये दुई दुई खेल मात्र जितेका छन् । त्यसैले यी भन्दा लुम्बिनीको सम्भावना बढी देखिन्छ । तर विराटनगर चितवन र कर्णालीले बाँकी सबै खेल जितेको अवस्थामा समिकरण बदलिन्छ । त्यसैले लुम्बिनीले पनि कम्तीमा एक खेल जित्न आवश्यक हुन्छ ।
तर बाँकी लुम्बिनीले बाँकी दुबै खेल जितेको अवस्थामा ऊ शिर्ष २ मा पुग्ने सम्भावना पनि बाँकी नै छ । त्यसैले एनपीएलका बाँकी खेल अति नै रोचक र अर्थपूर्ण हुने निश्चित छ ।





















प्रतिक्रिया