Logo

समाचार

काठमाडौँका चोरी भएका सम्पदा फिर्ता ल्याउन महानगरले अभियान चलाउने



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विदेशका विभिन्न सङ्ग्रहालय तथा स्थानमा पुगेका चोरी भएका नेपाली धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा स्वदेश फिर्ता ल्याउने अभियानलाई संस्थागत रूपमा अघि बढाउने भएको छ।

महानगरले सम्पदाको पहिचान, अभिलेखीकरण, जनचेतना अभिवृद्धि र समुदायको क्षमता विकासलाई अभियानको प्राथमिकतामा राखेको छ।

शुक्रबार आयोजित कार्यक्रममा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले चोरी भएका सम्पदा पहिचान गरी स्वदेश फर्काउने प्रयासलाई थप व्यवस्थित र प्रभावकारी बनाइने बताइन्।

उनका अनुसार यसअघि कूटनीतिक माध्यम तथा विदेशमा रहेका विभिन्न संघसंस्था र समुदायसँगको सहकार्यमा सम्पदा फिर्ता ल्याउने प्रयास हुँदै आएको छ। अब यस्ता प्रयासलाई थप औपचारिक र संस्थागत बनाइनेछ।

डंगोलले सम्पदा संरक्षणका लागि अभिलेखीकरण महत्वपूर्ण रहेको बताउँदै पुराना तस्बिर, भिडियो तथा अन्य प्रमाण सुरक्षित राख्नुपर्नेमा जोड दिइन्। एउटा पुरानो तस्बिरकै आधारमा महागौरीको मूर्ति पहिचान गरी फिर्ता ल्याउन र पुनःस्थापना गर्न सम्भव भएको उदाहरणसमेत उनले प्रस्तुत गरिन्।

उनले धार्मिक तथा सांस्कृतिक सम्पदा हराएमा तत्काल प्रहरीमा उजुरी गर्ने अभ्यास विकास गर्नुपर्ने बताइन्। विगतमा सम्पदा चोरी हुँदा औपचारिक उजुरी नगरिएका कारण फिर्ता ल्याउने प्रक्रियामा आवश्यक प्रमाण जुटाउन कठिन भएको उनको भनाइ थियो।

महानगरले सम्पदा संरक्षणसम्बन्धी अभियान जनप्रतिनिधि र कर्मचारीबाट सुरु गरी नगर प्रहरी, गुठी, संघसंस्था, टोल सुधार समिति तथा स्थानीय समुदायसम्म विस्तार गर्ने जनाएको छ।

यसका साथै सम्पदा संरक्षणमा खटिने कर्मचारी र स्थानीय समुदायलाई आवश्यक प्राविधिक तालिम दिइनेछ। सम्पदामा रङ लगाउने, चुनाको प्रयोग गर्ने तथा पुरातात्विक संरचनाको संरक्षण गर्ने सही विधिबारे समेत प्रशिक्षण दिइने डंगोलले बताइन्।

उनले सम्पदाको सुरक्षाका लागि सीसीटीभी मात्रै पर्याप्त नहुने भन्दै स्थानीय समुदायको सक्रियता र अपनत्व आवश्यक रहेको उल्लेख गरिन्।

महानगरले सम्पदा नगर प्रहरीको अवधारणालाई समेत विस्तार गर्दै चोरी तथा अवैध ओसारपसार रोक्ने, विदेशमा रहेका सम्पदा पहिचान गर्ने, स्वदेश फिर्ता ल्याउने र पुरानै स्थानमा पुनःस्थापना गर्ने कामलाई चरणबद्ध रूपमा अघि बढाउने जनाएको छ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार १५:३३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।