Logo

समाचार

नेपाली उद्योगका उत्पादनलाई भारतमा सहज पहुँच दिलाउन मन्त्री साहको पहल



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतका वाणिज्य तथा उद्योगमन्त्री पीयूष गोयलबीच नेपाल–भारत व्यापार तथा औद्योगिक सहकार्यका विभिन्न विषयमा द्विपक्षीय छलफल भएको छ।

भारतको विशाखापटनमा आयोजित ३१औँ पार्टनरसिप समिट २०२६ मा सहभागी हुने क्रममा भएको भेटवार्तामा व्यापार, पारवहन, लगानी प्रवर्द्धन, गुणस्तर प्रमाणीकरण र नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँचलगायतका विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ।

भेटमा मन्त्री साहले नेपाली उद्योगले भारतीय बजारमा प्रवेश गर्दा भारतीय मानक ब्यूरो (बीआईएस) को प्रमाणपत्र लिन भोग्नुपरेका प्रक्रियागत झन्झट, ढिलाइ र लागतसम्बन्धी समस्या उठाएका थिए। उनले नेपाली सिमेन्ट, स्टिल, प्लाइउड, जुत्ता, धागोलगायत औद्योगिक उत्पादनको प्रमाणीकरण प्रक्रिया सहज बनाउन आग्रह गरे।

नेपालमै बीआईएस मापदण्डअनुसार परीक्षण प्रयोगशाला स्थापना गर्ने प्रस्तावमा भारतीय मन्त्री गोयलले सकारात्मक चासो देखाएका छन्। उनले यस विषयमा आवश्यक प्रक्रिया अघि बढाउन आफ्नो मन्त्रालयका सम्बन्धित सचिवलाई निर्देशनसमेत दिएका छन्।

त्यस्तै, नेपाललाई भारतका धाम्रा र मुन्द्रा बन्दरगाह थप पारवहन सुविधाका रूपमा उपलब्ध गराउने, नेपाल–भारत व्यापार सन्धिको पुनरावलोकन तथा काँकडभिट्टा–फुलबारी–बङ्गलाबन्ध मार्गमा नेपाली मालवाहक सवारीसाधनले भोग्दै आएका भारवहन प्रतिबन्ध हटाउने विषयमा पनि छलफल भएको छ।

कोलकाता बन्दरगाहमा नेपाल ट्रान्जिट एण्ड वेयरहाउसिङ कम्पनी लिमिटेडको लिजमा रहेको जग्गा नवीकरण वा वैकल्पिक जग्गा उपलब्ध गराउने विषयसमेत वार्तामा उठाइएको थियो।

यसैगरी नेपाली जुटजन्य उत्पादनमा लगाइएको एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ शुल्कको पुनरावलोकन, नेपाली चियाको भारतीय बजारमा सहज प्रवेश र कृषि उत्पादनको गुणस्तर परीक्षण तथा प्रमाणीकरणलाई सरल बनाउने विषयमा छलफल भएको छ।

नेपाली खाद्यवस्तुको परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गतका मान्यताप्राप्त प्रयोगशालाबाट जारी हुने परीक्षण प्रतिवेदनलाई भारतीय निकायले मान्यता दिनुपर्ने प्रस्ताव पनि नेपालले राखेको छ। साथै सीमावर्ती क्षेत्रमा गुणस्तर परीक्षण सुविधा विस्तार गर्न आग्रह गरिएको छ।

मन्त्री साहले दुई देशबीचको व्यापार सम्बन्ध सुदृढ बनाउन आपसी विश्वास, समान व्यवहार, गुणस्तरीय उत्पादन र सरल व्यापार प्रक्रियालाई प्राथमिकता दिनुपर्ने बताएका थिए।

भारतीय मन्त्री गोयलले उठाइएका विषयमा सकारात्मक चासो देखाउँदै सम्बन्धित निकायबीच समन्वय र प्राविधिक छलफलमार्फत समाधान खोज्नुपर्ने बताएका छन्।

भेटवार्ताले नेपाली उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन, निर्यात प्रवर्द्धन गर्न र नेपाल–भारत व्यापार सहजीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २७ कार्तिक २०८३, शुक्रबार १५:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।