Logo

खेलकुद

अन्तिम २ ओभर सम्हालिन नसक्दा विराटनगर एनपीएलबाट बाहिरियो, चितवनलाई फाइदा, लुम्बिनी शिर्ष २ मा रहँदै क्वालिफायरमा



काठमाडौ । एनपीएलको साविक विजेता टोली लुम्बिनी लायन्सले लिग चरणको आफ्नो अन्तिम खेलमा विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको छ । यससँगै विराटनगर लिग चरणबाटै बाहिरिएको छ भने लुम्बिनीसँगै चितवन पनि प्लेअफमा पुगेको छ । यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको लुम्बिनीले लिग चरणमा ७ खेलबाट ११ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । यससँगै लुम्बिनी शीर्ष दुईमा रहने पनि पक्का भएको छ ।

विराटनगरले दिएको १६७ रनको लक्ष्य लुम्बिनीले १ बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गरेको हो ।

जितका लागि लुम्बिनीलाई अन्तिम दुई ओभरमा ३२ रन आवश्यक थियो । सन्दिप जोराले १९औं ओभरमा दुई छक्का र एक चौकासहित १७ रन जोड्दै लुम्बिनीलाई खेलमा फर्काएका थिए ।

विराटनगरका लागि श्रीलंकाली खेलाडी इसुरु उडानाले यो ओभरमा महंगो बलिड गरे भने उनले सन्दीप जोरालाई सजिलै रन आउट गरिने मौका गुमाएका थिए । जुन विराटनगरका लागि महंगो सावित भयो । सन्दीपले त्यसै ओभरमा त्यो जिवनदान पछि २ छक्का प्रहार गरेका थिए ।

त्यसपछि अन्तिम ओभरमा १६ रन आवश्यक रहेको खेलमा विराटनगरका बलर रुपेश सिंहले पहिलो बल नै नो बल फाले । त्यही बलमा लुम्बिनीका अलि शेखले छक्का प्रहार गरे । त्यसपछिको फ्रि हिटमा उनले २ रन बनाउँदै टिमलाई सहज अवस्थामा पुर्याएका थिए । तर शेख चौथो बलमा क्याच आउट भएसँगै विराटनगरका समर्थकलाई केही आशा पलाए पनि २ बलमा ५ रन मात्र आवश्यक परेको अवस्थामा लुम्बिनीका  रुबेन ट्रम्पलम्यानले रुपेश सिंहलाई छक्का प्रहार गर्दै टोलीलाई जिताए । अली शेखले २७ र सन्दिीप जोराले मात्र ११ बलमा १ चौका र ३ छक्कासहित अविजित २५ रन बनाए ।

यसरी विराटनगरले अन्तिम २ ओभरमा सम्हालिन नसक्दा हार मात्र चाख्नु परेन कि लिग चरणबाटै घर फर्कनुपर्ने भयो ।

लुम्बिनीका लागि ओपनरद्वय डी आरसी सर्ट र आसिफ शेखले समान ४५ रन बनाए । विराटनगरका लागि अपराजित पौडेलले एकै ओभरमा २ विकेट लिए । अघिल्लो खेलमा ह्याट्रिक सहित ६ विकेट लिएका कप्तान सन्दीप लामिछानेले आज कुनै विकेट लिन सकेनन् । एकै ओभरमा २ विकेट लिएका अपराजितले अर्को ओभर बलिड गर्ने अवसर पाएनन् चरित असलंका र रुपेश सिंहले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले चरित असलंकाको अर्धशतक मदतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको थियो । असलंकाले ४३ बलमा १ चौका र ६ छक्का प्रहार गर्दै सर्वाधिक ६४ रन बनाएका थिए भने शुभम रन्जनेले २४ बलमा अविजित ३१ रन बनाए ।

ओपनर इमरान शेख २४ रन बनाएर रिटायर्ट हर्ट भएका थिए ।  लुम्बिनीका लागि किशोर महतो, रुबेन ट्रम्पलम्यान र अभिशेष गौतमले १–१ विकेट लिए ।

प्रकाशित मिति : २८ कार्तिक २०८३, शनिबार २१:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।