Logo

राेजगार

लोकसेवामा मेरो अनुभव : जब आफ्नै कमजोरी औँल्याएर पढेँ



यसरी भएँ ‘जियोम्याटिक्स इन्जिनियर’

प्रथम श्रेणीमा १२ कक्षा उत्तीर्ण भएपछि कता र के विषय लिएर बाँकी अध्ययनलाई निरन्तरता दिने भन्ने विषयमा निकै द्विविधा भयो । मेरो सानैदेखिको चाहना कम्प्युटर इन्जिनियरिङ पढ्ने थियो । पछि सिभिल इन्जिनियरिङ पढ्नेतिर मन गयो । सिभिल इन्जिनियरिङ पढ्नका लागि कक्षा पनि लिएँ । तर, ‘जियोम्याटिक्स इन्जिनियरिङ’को भविष्य राम्रो छ भन्ने सुझाब पाएपछि म त्यतैतिर लागेँ । यो विषय पढ्नका लागि छात्रवृत्तिमा पनि नाम निस्केपछि थप ऊर्जा मिल्यो ।

चारवर्षे अध्ययन पूरा गरेपछि ‘जियोम्याटिक्स इन्जिनियर’ भएँ । इन्जिनियर भएपछि केही समय ‘फ्रिल्यान्सर’ भएर काम गरेँ । ‘सर्भे कन्सल्ट्यान्सी’का लागि नापी गर्न जिरी, पोखरा, रुकुमलगायतका जिल्लामा पुगेँ ।

लोकसेवा यात्रा

नेपालको परिवेशमा पढाइलाई राम्रो कमाइ र जागिरसँग जोडेर हेरिन्छ । यही सोच मेरो परिवारमा पनि छ । सामाजिक प्रतिष्ठा, कमाइ आदि हिसाबले सरकारी जागिर तुलनात्मक रूपमा राम्रै मानिन्छ ।

यसै सिलसिलामा ‘जियोम्याटिक्स इन्जिनियर’ पदका लागि लोकसेवा आयोगले आवेदन खुला गर्‍यो । ‘जियोम्याटिक्स इन्जिनियर’का लागि तेस्रो श्रेणी अर्थात् नापी अधिकृतमा सीधै विज्ञापन खुल्छ । म लोकसेवाको तयारीमा जुटेँ ।

यसरी पढेँ

कहिलेकाहीँ काम गर्दै पनि पढेँ । सुरुमा कसरी पढ्ने भन्ने विषयमा योजना बनाएँ । जुन विषयमा कमजोर छु भन्ने अनुभूति हुन्छ, त्यही विषयमा जोड दिएर पढ्न थालेँ । कुनै पनि विषयमा पनि नआत्तीकन धैर्यका साथ पढ्न थालेँ । पढ्दा एउटै विषयमा मात्र केन्द्रित नभई सबैलाई उत्तिकै महत्वका साथ अध्ययनलाई अघि बढाएँ । लोकसेवामा किताबका साथै समयसापेक्ष समसामयिक विषयहरूमा पनि ध्यान दिनुपर्छ । त्यसैले कुनै पनि विषयमा इन्टरनेटमा खोजी गर्दै पढ्नुपर्ने हुन्छ । मैले पनि सोही विधि पछ्याएँ । इन्टरनेटलाई अध्ययनको एउटा महत्वपूर्ण पाटोका रूपमा अँगालेँ ।

कतिपयको बानी पढ्ने मात्र हुन्छ । यो गलत हो जस्तो लाग्छ । पढ्ने र लेख्ने अभ्यास सँगै गर्नुपर्छ । मैले लेख्दै पढ्ने विधि अँगालेँ । केही समय पढेपछि त्यससँग सम्बन्धित उत्तर लेखेर अभ्यास गरेँ ।

तनाव व्यवस्थापन

मैले आफूलाई तनावमा राखेर कहिल्यै पढिनँ । धैर्यका साथ जसरी सम्झिन सहज हुन्छ, सोहीअनुसार पढेँ । केही समय पढेपछि दिमागलाई पुनर्ताजगी गर्न खेल खेल्ने, पत्रपत्रिका पढ्नेलगायतका काम गरेँ ।

समसामयिक विषयवस्तुमा अद्यावधिक हुन समाचार सुन्नेलगायतका कामलाई समय खेर फाल्ने अर्थमा लिनुहुँदैन । किताब मात्र नपढी सिर्जनशील पनि हुनुपर्छ । दिमागलाई सकारात्मक बनाएँ, आफ्ना कमजोरी औँल्याएर पढेँ ।

सूत्र बनाएर पढ्नुपर्छ

सम्भव भएसम्म कुनै विषयमा आफूलाई सहज लाग्ने गरी सूत्र बनाएर पढ्नुपर्छ । मैले त्यही विधि अपनाएँ । कुनै पनि विषयमा अध्ययन गर्दा उक्त विषयसँग जोडिएका विविध आयाम केलाउँदै पढ्नुपर्छ । पढ्दा हुबहु घोक्नेभन्दा पनि जानेररबुझेर पढ्नुपर्छ । यसले उत्तर लेख्ने मौलिकताको विकास हुन्छ ।

मैले आफ्नो आर्थिक अवस्था कमजोर भएको, तनाव, आलोचना आदि सम्झिँदै पढेँ । यसले पढाइमा जोस र जाँगर बढायो । आफूभन्दा कमजोर पृष्ठभूमिका मानिसले नाम निकालेर जागिर खाइरहेका छन्, मैले किन नसक्ने भन्ने सोचका साथ पढेँ ।
आफूले पढ्ने विषयमा सुरुदेखि नै अवगत भई पाठ्यक्रमअनुसार पढेँ । जसले मलाई समयको अधीनमा रहेर पढ्न सिकायो ।

आत्मविश्वासले काम गर्‍यो

कुनै पनि काम गर्दा त्यसमा आफ्नो आत्मविश्वास जगाउनुपर्छ । यही आत्मविश्वास मैले पनि अँगालेँ । लगनशीलता र निरन्तरको अभ्यासलाई पनि त्यागिनँ । यसै कारण मैले पहिलोपटकमै नापी अधिकृतमा नाम निकालेँ । वस्तुगत, विषयगत र अन्तर्वार्ता गरी तीनै तहका परीक्षामा सफल भएँ ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आईतवार ०३:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।