पछिल्ला दिनमा निकै विवादित बन्दै गएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई लिएर पक्ष र विपक्षमा बहस जारी छ । यसै विवादकाबीच हाम्रो पार्टी नेपालका संयोजक गोविन्द बोहरा “ब्रह्माण्ड” ले पूर्व राजा ज्ञानेन्द्र र विप्लव सहित सम्पूर्ण राष्ट्रवादी शक्ति मिलेर एमसीसी रोक्नुपर्ने बताएका छन् । ‘अनलाइनपाना संवाद’ मा अन्तरवार्ताको क्रममा संयोजक बोहराले एमसीसी अमेरिकी साम्राज्यवादको चिनलाई घेर्ने इण्डोप्यासिफिक रणनीतिकै हिस्सा रहेको समेत दाबी गरे । संयोजक बोहरासँग हाम्रा प्रस्तोता तुलसी नेपालले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत गरेका छौ :
तपाईंहरु एमसीसीको विरोध गर्दै हिंडिरहनु भएको छ, एमसीसीको विरोध किन गर्नुपर्यो ? हाम्रा दातृ निकायले हाम्रो विकासको लागि सहायता गरेको कुरामा किन विरोध, राजनीतिको नाममा विकास विरोधी कुरा त गर्दै हिड्नु त भएन नि ?
एमसीसी अमेरिकी साम्राज्यवादको नीति एउटा हिस्सा हो भन्ने हाम्रो निष्कर्ष हो । देशलाई साम्राज्यवादको केन्द्र बन्न दिनुहुँदैन भन्ने निष्कर्षका साथ हामीले एमसीसीको विरोध गरेका हौं । अर्कोतिर यो अमेरिकी साम्राज्यवादको चीन घेर्ने रणनीतिकै हिस्सा हो भने चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) को काउण्टर परियोजना हो । त्यसकारण पनि हाम्रो लागि एमसीसी भन्दा बिआरआई तुलनात्मक रूपमा राम्रो छ भन्ने निष्कर्ष पनि हो । आइपिएस अन्तरगतको अहिलेको एमसीसी हाम्रो हितमा छैन भन्ने नै हाम्रो निष्कर्ष हो ।
एमसीसीका लिखित दस्तावेजलाई आधार मान्ने हो भने त एमसीसी आइपिएसको हिस्सा भन्ने कतै उल्लेख छैन, सँगै नेपाल स्थित अमेरिकी दूतावासले समेत प्रष्ट पारिसक्यो अनि तपाईहरू चाहिँ यसलाई आइपिएसकै हिस्सा भन्नुहुन्छ, तपाईंहरू कम्युनिस्ट ब्याकग्राउण्डबाट आउनुभएको हुनाले शास्त्रीय रुपमै अमेरिकी साम्राज्यवादको विरोध गर्नुपरेको हो ? यसमा तपाईहरुको राजनैतिक स्पेस बनाउने जस्तो मात्रै देखियो विरोधको कुनै तुक त देखिएन नि ?
रणनीति भनेको घोषित रूपमा आउने कुरा नै हैन, एमसीसीका घोषित दस्तावेजलाई हेर्ने हो भने यो मिठो चकलेट जस्तो प्रतीत हुन्छ । उदाहरणकालागि इरानी सैन्य कमाण्डर सुलेमानी मारिए त्यो कुनै घोषित नीतिको हिस्सा थियो र रु यस्ता योजनाहरू घोषणा गरेर ल्याउने कुरा हैन नि । अनुदान नै भनिसकेकोपछि नेपाललाई सिधै ५५ अर्ब दिए त भै हाल्यो नि, नेपालले आफ्नो पोलिसी अन्तरगत उक्त रकम खर्च गर्छ ।
२०५६ सालमा सुरु भएको मेलम्ची खानेपानी आयोजना आजसम्म सम्पन्न गर्न नसक्ने नेपालले ५५ अर्ब विकास बजेट खर्च गर्छ भनेर कसरी विश्वास गरेर उक्त रकम दिन्छन् ?
हो हामीले पनि भनेको त्यहि हो यहाँका राजनैतिक दलको कारणले राष्ट्रिय नीति बनेन यो मैले तपाईसँगकै अन्तरवार्ताकै क्रममा पटकपटक भनेकै कुरा हो । हामी मुल चुकेको भनेकै नेपाल भित्र हो, आफ्नो राष्ट्रिय नीति नभएको अवस्थामा चीन, अमेरिका वा अन्य कुनै शक्तिराष्ट्रले नेपाललाई क्रीडास्थल बनाउने कुरा कुन नयाँ कुरा भयो र ? मुल समस्या हामी भित्रकै समस्या हो, समस्या अमेरिका वा एमसीसी होइन ।
अहिलेको राजनीतिको मुलधारमा तपाईहरु कर्नरमा पर्नुभएको छ, एमसीसीको चर्चा छ यसको विरोध गरौं हाइलाइट भईन्छ भन्ने रणनीति हो ?
हामी हाइलाइट हुनु वा नहुनुको कुरा होइन, हामीसँग १५० खर्ब पैसा छ, हामीले त्यो प्रमाणित गरेका छौँ । अहिले सरकारले त्यसलाई न त हैन भनेको छ न त हो नै भनेको छ ।
१५० अर्ब छ भनेपनि त्यो बाहिर निस्कदैंन, कम्तीमा देशको विकासको लागि आएको ५५ अर्बमा झमेला नगर्दिनुस न ? कुटनैतिक बिषयमा किन राजनीति गर्नुहुन्छ ?
त्यसो भए यसको जिम्मा कसले लिन्छ ? त्यही अमेरिकी सरकार हो जसले नेपाली बालबालिकालाई खोपको नाममा औषधि परिक्षण गरेर नेपाली जनता मारेको इतिहास छ कि छैन ? अनेकन भ्याक्सिन परिक्षणको कुरा त सुनि नै रहनु भएको छ । अनि विकासको नाममा आएका यस्ता परियोजनाको विश्वास कसरी गर्न सकिन्छ ?
एमसीसीमा गलत प्रावधान छन् भने तिनीहरुलाई हटाएर कार्यान्वयन गर्न तिर लाग्ने कि त्यसलाई नै खारेज गर्नेतिर लाग्ने ?
विकास गर्नको लागि हामीसँग कुनै रकम नै आवश्यक छैन भन्ने हाम्रो निष्कर्ष हो । अन्तरदेशीय प्रसारण लाइन नै निर्माण गर्ने कुरा हो भने हामीसँग त्यत्रो उर्जा उत्पादन कहाँ छ । अनि के सप्लाई गर्ने ? अर्कोतिर नेपालमा उत्पादित उर्जा नेपालमै प्रयोग गर्ने वातावरण निर्माण गर्नु चाहिँ हामी समृद्ध बन्ने बाटो हो । सप्लाई गरेर भन्दा यसलाई प्रयोग गरेर हामी समृद्ध बन्ने बाटोमा छौं । नेपाललाई समृद्ध पार्नको लागि अहिलेको राजनैतिक दल र सरकारले विद्रोही शक्ति सहित सम्पूर्ण शक्तिलाई एकजुट बनाएर लैजाने बाटो उपयुक्त हुन सक्छ ।
अब तपाईंहरुले मात्रै एमसीसी रोक्न सक्नु भएन, विप्लवलाई अगाडि सार्दा एमसीसी रोक्न सकिन्छ कि भन्ने प्रयास हो ?
विप्लव पनि यो देशका नागरिक हुन् । हिजो प्रचण्ड बाबुराम उदाएको बाटो त्यहीँ होइन र ? हो उनले केही गलत काम गरेका होलान् त्यसो भन्दैमा उनको शक्तिलाई नजर अन्दाज गर्न त सकिन्न नि । अहिले उनी क्षमतावान छ्न् । विप्लवले एमसीसी रोक्न अपिल गरेभने नेपाली जनताले पक्कै पनि विप्लवलाई साथ दिन्छन् जस्तो लाग्छ ।
विप्लवले पनि के प्रतिबद्धता जनाउनु पर्यो भने सरकारसँग नीशर्त वार्ता गर्ने र एमसीसी रोक्न पहल गर्ने हो भने नेपाली जनताले पनि विप्लवलाई अबश्य साथ दिन्छन् । एउटै राष्ट्रिय शर्तमा सबै एकजुट हुने हो भने एमसीसी रोक्न सम्भव छ । हतियार र अर्थको आडमा विश्वमा आफ्नो प्रभुत्व स्थापित गर्ने प्रयास गर्ने अमेरिकी साम्राज्यवादलाई पूर्वीय देश मिलेर लखेट्नुको विकल्प छैन । एशियालाई विश्वको केन्द्र बनाउने चिनको प्रयासमा हामी बाधा बन्नु हुँदैन ।





















प्रतिक्रिया