Logo

अनलाइनपाना खोज

देउवा र निधिको चंगुलमा गच्छदार !



ललिता निवास जग्गा प्रकरणलाई राजनैतिक, सामाजिक वा नागरिक स्तरमा पनि विचार विमर्श चलिरहेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदार समेत उक्त काण्डमा नाम मुछिएपछि कांग्रेस अहिले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरिरहेको छ भने पार्टीका भातृ संगठनहरूको आयोजना सडकमा समेत प्रदर्शन भै रहेको छ ।

सरकारमा जान र मन्त्री बन्न कीर्तिमान हासिल गरेका उनै उपसभापति गच्छदारको यस्तो अवस्था होला भनेर कसैले कल्पना गर्न सम्म सकिने कुरा पनि होइन । मधेस राजनीतिबाट सत्तामा हालीमुहाली गरेका उनै गच्छदार माउ पार्टीमा फर्किएसँगै अख्तियारको अभियोगपछि उनी सांसदबाट निलम्बित भै सके भने अदालतको फैसलाले उनको राजनैतिक करियर नै सखाप पार्न सक्ने जोखिम पनि छ । कसैको सत्तालिप्साको आरोप लगाउनु पर्‍यो भने गच्छदार प्रवृत्ति भन्ने चलन थियो ।

अहिले उनै गच्छदारको राजनैतिक करियर पूर्णविराम लाग्ने चरणा हुँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गच्छदार बचाउन आन्दोलन गरिरहेको दावी गरिरहँदा पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्रको त गच्छदारलाई मुद्दा लगाउनमा हात छैन ? भन्ने प्रश्न उठ्न थालेको छ । प्रमुख प्रतिपक्षी दलका सभापति देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बन्ध सुमधुर रहेको मानिन्छ । उनै सम्बन्धको बलमा देउवाले आफ्नी सासू प्रतिभा राणालाई जापानका लागि नेपाली राजदूतक पदमा आजसम्म पनि आसिन छिन् ।

त्यति मात्रै होइन सशस्त्र द्वन्द्वकालिन मानवअधिकार उल्लंघनका घटनाको निरुपण गर्ने गरि बनेको संक्रमणकालीन न्यायीक आयोगमा पनि सरकारले प्रतिपक्षी दललाई धक फुकाएरै भाग दिएकै थियो भने अर्कोतिर विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्दा होस् वा अन्य महत्वपूर्ण निर्णयहरूमा पनि प्रतिपक्षी दलको सहमति लिइने प्रधानमन्त्री ओलीले स्पष्ट पारेकै थिए । यसैले पनि प्रमुख प्रतिपक्षी दल भएर पनि कांग्रेसले प्रतिपक्षको भूमिका संतोषजनक नभएको कांग्रेस नेता कार्यकार्ताहरूले समेत स्वीकार गरेको कुरा हो ।

‘अख्तियारले विशेष अदालतमा ललिता निवास प्रकरणमा मुद्दा दायर गर्नुअघि नै कांग्रेस सभापति देउवालाई गच्छदारलाई अभियोग लाग्नेबारे जानकारी थियो ।’ स्रोतले दावी गरेको छ । यदि देउवाले चाहेको खण्डमा गच्छदार विरुद्धको सम्भावित अभियोग रोक्न सक्ने प्रशस्त सम्भावना रहेको समेत स्रोतको दावी छ । यसको बिषयलाई लिएर सभापति देउवाले अर्का उपसभापति बिमलेन्द्र निधिसँग परामर्श गर्दा उनका खास राजनैतिक प्रतिद्वन्दी गच्छदार मैदानबाट सजिलोसँग हट्ने परिस्थितिको फाइदा उठाएको चर्चा छ ।

पार्टीको विधान विपरीत राजनीतिक निर्णयको आधारमा गच्छदारलाई उपसभापति बनाइएको भन्दै देउवासँग निधि असन्तुष्ट रहदै आएका थिए । उनै निधिले गच्छदारको प्रतिरक्षा नगर्न देउवालाई “कन्मिन्स” गरेको समेत स्रोतको दावी छ । अख्तियारको निर्णय विरुद्ध संघर्ष गरिरहेको कांग्रेसले समेत गच्छदारलाई बचाउने भन्दा पनि पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, डा। बाबुराम भट्टराई सहित पूर्व मुख्य सचीव सहित सत्तारूढ नेकपाका महासचिव विष्णु पौडेललाई मुद्दा चलाउनुपर्ने अन्यथा अरूलाई मात्रै कार्वाही चलाउनुको कुनै अर्थ नभएको कुरा सार्वजनिक रुपमै अभिव्यक्त दिईरहेकै छन् ।

‘कांग्रेस आफ्नै निर्दोष साथिलाई पनि फसाउँछ र कम्युनिस्टले दोषी साथीको पनि प्रतिरक्षा गर्छ ।’ पूर्वमन्त्री तथा कुनै समयका कांग्रेस नेता जयप्रकाश गुप्ताले उल्लेख गरेको वाक्यांश हो यो । यसले पनि कांग्रेस भित्र हुने गरेको अन्तरघातलाई प्रष्ट पार्छ । कांग्रेस वरिष्ठ नेता ‘रामचन्द्र पौडेलको सिफारिसमा गुप्ता सहित चिरञ्जीवी वाग्ले, गोविन्द राज जोशी र मलाई फसाइएको हो ।’ भ्रष्टाचारको आरोपमा कैद सजाय पुरागरि बाहिर आएपछि दिवंगत नेता खुम बहादुर खड्काले पंक्तिसँग बताएको कुरा हो यो । यसकारण गच्छदार प्रकरणमा समेत कांग्रेसको आन्तरिक राजनीति मिसिएको छैन भनेर भन्न सकिने अवस्था छैन ।

आगामी १४ औं महाधिवेशनमा पूनः सभापतिको आकांक्षी रहेका देउवालाई गच्छदारको व्यवस्थापन ठूलो चुनौती रहेको बताइन्छ । राजनैतिक निर्णयको आधारमा उपसभापति बनाइनु र महाधिवेशनमा पनि उनको समूहको साथ पाउन उनलाई कुनै न कुनै हिसाबमा व्यवस्थापन गर्ने दायित्व देउवाकै काँधमा थियो । मधेसी राजनीतिबाटै उदाएका उनका खास प्रतिद्वन्दी निधिलाई समेत गच्छदारको उपस्थितले समस्या पारिरहेको थियो नै यसै कारण पनि उपयुक्त समयमा कांग्रेस उच्च नेतृत्वले गच्छदारलाई ठेगान लगाउन सरकारी कदममा साथ त दिइएको होइन भन्ने प्रश्न भने उठेको छ । यद्यपि दावी गरिहाल्नु भने हतार हुनेछ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार १९:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।