Logo

समाचार

खानेपानी मन्त्री बिना मगरलाई प्रधानमन्त्रीको दबाब



मेलम्ची खानेपानी आयोजनाको काम समयमा सम्पन्न नगरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले खानेपानी तथा ढल व्यवस्थापन मन्त्री बिना मगरलाई कार्यप्रगतिको विवरण माग गरेका छन् । मन्त्री मगरलाई चाँडो भन्दा चाँडो काम सक्नका लागि प्रधानमन्त्री ओलीले दबाब दिएपछि मन्त्रालयले मेलम्ची आयोजनाका लागि श्वेतपत्र जारी गर्ने तयारी गरेको छ ।

मेलम्चीको पानी काठमाडौं उपत्यकामा आउने मितिसहितको श्वेतपत्र जारी हुन लागेको मन्त्रालय सम्बद्ध स्रोतले जनाएको छ । श्वेतपत्रमा आगामी असोजसम्ममा उपत्यकाभित्र मेलम्चीको पानी घर–घरमा पुग्ने प्रस्टसँग उल्लेख हुनेछ ।

‘प्रधानमन्त्रीबाट विशेष चासो लिएर भनेको समयमा पानी उपत्यकामा वितरण हुनुपर्ने दबाब परेपछि काम छिटो गर्नका लागि मन्त्रालयलाई दबाब परेको छ’, स्रोतले भन्यो ।

आगामी असारसम्म सुन्दरीजलमा पानी ल्याएपछि त्यसको तीन महिना असोजमा उपत्यका भरी पानी वितरण गर्ने लक्ष्य मन्त्रालयले राख्नेछ । ‘मेलम्चीका विषयमा हालसम्म भएको कामको बारेमा स्पष्ट जानकारी नभएपछि जनस्तरमा समेत त्यसको प्रगति विवरण दिन प्रधानमन्त्रीको निर्देशनअनुसारै अहिलेसम्मको काम र पानी आउने मितिको लक्ष्यसहितको श्वेतपत्र जारी हुनेछ’, उच्च स्रोतले भन्यो ।

मन्त्री मगर, तत्कालिन सचिव गजेन्द्र ठाकुरलगायतको आन्तरिक विवादका कारण मेलम्चीको काम गरिरहेको इटालियन ठेकेदार कम्पनी सीएमसीलाई भगाइएको थियो । त्यसपछि आयोजनाको सुरुङमार्ग र हेडवक्र्स (बाँधस्थल)को काम चिनियाँ कम्पनी सिनो हाईड्रोले पाएको छ ।

०५२ सालमा पहिलोपटक मेलम्ची खानेपानी लिमिटेड स्थापना गरेर काम थालिएको थियो । ०५५ मा विकास समितिमा लगिएको आयोजनाले २४ बर्ष हुँदा पनि पूर्णता पाएको छैन । यो दुई पञ्चबर्षिय योजनाअनुसार ०६२ मा नै सकिनुपर्ने थियो ।

कमिशनका कारण विभिन्न ठेकेदार कम्पनीले हात छाड्दै जाँदा सीएमसीले काम अघि बढाइरहेको थियो । दुई बर्षअघि उक्त मन्त्रालयको जिम्मा मन्त्री मगरले पाएपछि ६ महिनामा मेलम्ची उपत्यकामा आउने घोषणा गरेकी थिइन् । काम पुरा गर्न कठिनाई भएपछि मन्त्री मगरले तीनजना सचिवको हेरफेर नै गरिन् ।

हाल भने मेलम्ची कहिले आउँछ भन्नेबारे मन्त्री मगरले कुनै जानकारी नदिएपछि मन्त्रालयको प्रगति विवरण आम साधारणलाई पनि जानकारी हुनुपर्छ भन्ने दबाब परेको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार १३:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।