Logo

समाचार

हजुरबुबाले तालिममा लिएको ज्ञानले बाँचिन् कुन्जन गुरुङ



युएईमा सिकेको ज्ञानलाई नेपालका विभिन्न जिल्लाहरुमा गएर निःशुल्क तालिम प्रदान गर्दै आएका सामाजिक अभियन्ता ओम उप्रेतीले प्रदान गरेको तालिमले स्याङ्जाको वालिङकी एक वालिकाले नयाँ जीवन पाएकी छिन् ।

हजुरबुबा चोकबहादुर गुरुङले तालिममा सिके अनुरुप सिपिआर गरेर पुनः श्वासप्रस्वास सुचारु गरेपछि बालिकाले नयाँ जीवन पाएको भन्दै हजुरबुबाले फेसबुकमा फोटो सहित पोस्ट गरेका छन् । उनले अभियन्ता उप्रेतीलाई युएईमा लामो समयको रोजगारीपछि नेपालमै सामाजिक गतिविधिमा सक्रिय व्यक्तित्व चन्द्रबहादुर रोकायामार्फत फोन सम्पर्क गरी आफ्नी नातिनीको ज्यान बचाउन सफल भएको भन्दै जीवनउपयोगी तालिम प्रदान गरेकोमा उप्रेतीलाई भगवानको उपमा दिएका छन् ।

पुनर्जिवन पाएकी कुन्जनका हजुरबुबा चोक गुरुङले फेसबुकमा लेखेका छन्, कुनै दिन वालिङको सिटी हलमा प्राथमिक उपचारको तालिम लिएको थिएँ । त्यही तालिममा सिकेको विधिअनुसार मेरो नातिनी कुन्जन गुरूङलाई बचाउन सफल भएँ ।

३० मिनेट जति श्वास बन्द भएपछि नातिनीलाई आमा र बाजेले मेरो काखमा थमाइथिए । सबैजना रोइकराई गरिरहेका थिए । मैले नातिनी कुन्जनलाई बेडमा सुताई दुई औंलाको सहायताले छातिमा पम्प दिएँँ, १५ १६ पटक पम्प गरेको थिएँ, त्यसको १ मिनेटभित्रै नातिनीले श्वास फेर्न सुरू गरिन् ।”

हजुरबुबाले यो खुशी युएईका पुराना सामाजिक अभियन्ता चन्द्रबहादुर रोकायालाई सुनाए । रोकायाले नै गतसाल स्याङ्जाको तालिममा भाग लिन ती हजुरबुबालाई सुझाव दिएका रहेछन् । नातिनीको जीवन बचाउने ज्ञान दिने निःशुल्क प्राथमिक उपचार तालिम अभियानका परिकल्पनाकार तथा मुख्य प्रशिक्षक उप्रेतीलाई हजुरबुबाले धन्यवाद प्रकट गरेका छन् ।

तालिमको प्रभावकारिता बढेपछि अभियन्ता उप्रेती स्याङ्जा जिल्लामा दोहोर्याएर तालिम प्रदान गर्ने भएका छन् ।

के हो सिपिआर विधि ?

विविध कारणले बन्द भएको श्वासप्रस्वास प्रक्रियालाई सुचारु गर्न अपनाइने बिधिलाई सिपिआर विधि भनिन्छ । यो विधिबाट तत्काल देखिने समस्याबाट मुक्त गरी मानिसको ज्यान बचाउन सकिन्छ ।

साना बालबालिकालाई दुई औलाको सहायताले र वयस्कलाई दुई हत्केलाको सहायताले छातिमा ३० पटक पम्प गरेर मुखबाट कृतिम श्वास दिएर पनि मुटु र फोक्सोलाई सक्रिय बनाउने विधिलाई अंग्रेजीमा सिपिआर भनिन्छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार १५:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।