Logo

समाचार

नेपाल भ्रमण वर्ष २०२० रद्द हुँदै, यस्तो छ तयारी



सरकारले नेपाल भ्रमण वर्ष २०२० रद्द गर्ने भएको छ । कोरोना भाइरसको संक्रमणले विश्वभर संकट आएपछि नेपाल भ्रमण वर्ष २०२० रद्द गर्ने भएको हो । भ्रमण वर्ष सरकारले नै रद्द गर्ने टुंगो लगाइसकेको छ । यसको अन्तिम निर्णय भने यसै हप्ता बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने बुझिएको छ ।

सरकारको विश्वस्त स्रोतले जानकारी दिए अनुसार कोरोनाले विश्व महामारी घोषणा भइरहेको अवस्थामा रद्द गर्नुनै ठिक हो भन्ने टुंगोमा पुगिएको हो । अबको मन्त्रिपरिषद् बैठकमा रद्दको प्रस्ताव लगी निर्णयमा पुगिने स्रोतको भनाई छ ।

कोरोनाको प्रभावः मुख्य सिजनकै आरोहण स्थगित

कोरोना भाइरसको विश्वव्यापी सङ्क्रमण बढिरहँदा प्रभावित बनेको नेपालको पर्यटन क्षेत्र थप प्रभावित बन्ने भएको छ । नेपालको पर्यटकीय गतिविधिमध्ये सबैभन्दा चर्चित र आम्दानीका हिसाबले प्रमुख स्रोतका रूपमा रहेको पर्वतरोहण यसपटक नहुने भएको छ । बिहीबार बसेको उच्च स्तरीय समितिले सन् २०२० को वसन्त ऋतुका लागि जारी गरिएका वा जारी गरिने अनुमतिपत्र हाललाई स्थगित गर्ने निर्णय गरेपछि आरोहण प्रभावित बन्ने भएको छ ।

वसन्त ऋतु नेपालमा पर्वतारोहणका लागि मुख्य सिजन मानिन्छ । खासगरी अप्रिलको मध्यदेखि मेको अन्तिम सातासम्म नेपालका हिमाल आरोहणका लागि उपयुक्त मानिन्छ । विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आरोहीहरू यसै समयलाई प्रतीक्षा गर्ने गर्छन् । गत वैशाख २९ गते वसन्त ऋतुको पहिलो सगरमाथा आरोहण भएकोमा यस वर्ष आरोहणको सम्भावना कमजोर बनेको छ ।

पर्यटन विभागले सन् २०१९ मा अहिलेसम्मकै धेरै अर्थात् ३७९ जनालाई सगरमाथा आरोहणको अनुमति दिएको थियो । त्यसमध्ये ३६६ जना विदेशी नागरिक र १३ जना नेपालीले अनुमति लिएका थिए । सगरमाथा आरोहण अनुमतिबापत सरकारले ४४ करोड रुपियाँ रोयल्टीबापत प्राप्त गरेको थियो ।

वसन्तु ऋतुमा सगरमाथाबाहेक ल्होत्से, मकालु, कञ्चनजङ्घा, अन्नपूर्ण प्रथम पनि आरोहीको मुख्य आरोहण गन्तव्यमा पर्छन् । आमादब्लम, अरनिको चुली, बरुन्त्से, भृकुटी, चाम्लाङ, छोपाबामरे, छोबुजे, धौलागिरि, ग्याल्जेन पिक, हिमजुङ, हिमलुङ, काङ्गबचेन, कुम्भकर्ण, लाङटाङ लिरुङ, लाचम चुली, मनासे, मुकोट हिमाल, नुप्त्से, पासाङ ल्हामु, पुमोरी, पुथा हिउँचुली, रत्नचुली, सरिबुङ, थापा पिक, थोराङ पिकलगायत हिमाल आरोहणका लागि यस सिजनमा विभागले अनुमतिपत्र जारी गर्छ । विभागले विगतमा चैतदेखि आरोहणका लागि अनुमतिपत्र खुला गरेको थियो । सरकारको पछिल्लो निर्णयले सगरमाथासहित अन्य डेढ दर्जन बढी हिमालको आरोहण करिब स्थगित हुने भएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आईतवार १३:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।