Logo

लुम्बिनी प्रदेश

बुलिङटारमा कोरोना भाईरसबारे सचेतना र निशुल्क स्वास्थ्य शिविर



नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पूर्व पहाडी भेग, बुलिङटार गाउंँपालिका वडा नम्बर ५ जौबारी र ६ अत्र्रौलीमा कोरोना भाईरस सचेतना र स्वास्थ्य शिविर सम्पन्न भएको छ । जनप्रतिनिधि,शिक्षक र बिरामीलाई लक्षित गरी कोरोना भाईरस जोखिम न्यूनिकरण र सचेतना जगाउन उक्त कार्यक्रम गरिएको हो ।

गंगा स्वास्थ्य दर्पण फाउण्डेशन नेपाल, बुलिङटार गाउंँपालिका नवलपरासी र स्वास्थ्य दर्पण मिडिया नेटवर्क चितवनको संयुक्त आयोजनामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा कोरोना भाईरसको संक्रमणले मानव स्वास्थ्यमा पार्न सक्ने असर, सावधानी र दीर्घ रोगहरु साथै बालबालिकाहरुमा यसको प्रभावबारे डाक्टरद्धय राम पोखरेल र सुमन खनालले सहजीकरण गरेका थिए ।

सचेतना सहित आयोजित शिविरमा महिलाहरुको स्तन क्यान्सर, मेरुदण्ड, हाडजोर्नी, नशारोग तथा बालरोग सम्बन्धीे उपचार गरिएको गंगा फाउण्डेशनका अध्यक्ष तथा स्वास्थ्य पत्रकार सन्दीपकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार २ दिन सम्म संञ्चालित सो कार्यक्रममा स्तन क्यान्सर रोगका २ सय ३० जना, हाडजोर्नी, मेरुदण्ड, नशारोगका २ सय २५ जना र त्यस्तै बालरोगका ९५ जना सहित ५ सय ५० जना विरामीको स्वास्थ्य परीक्षण गरिएको थियो ।

स्तन क्यान्सररोग बिशेषज्ञ डाक्टर सुमन खनाल र वरिष्ठ नर्स अयोध्या पाठकले स्तन क्यान्सरको लक्षणसंँग मिल्ने करीब १२ जना बिरामी देखा परेको र रोगको थप पहिचानको लागि मेमोग्राफी गर्नु पर्ने बताए । उनका अनुसार ती विरामीलाई थप परीक्षण गर्न भरतपुरमा रहेको बि.पी.कोईराला मेमोरियल क्यान्सर अस्पतालमा रिफर गरिएको छ ।

बालरोग विशेषज्ञ डा.राम पोखरेलले बालबालिकाहरुमा ज्वरो, रुघाखोकी, पेट दुख्ने, छालाको एलर्जी, लुतो, दाद, मुत्रनलीको संक्रमण, कान र आँखा पाक्ने जस्ता समस्या देखापरेको बताए । यस्तै शिविरमा बिरामीमा ढाडको नशा च्यापिएको, मेरुदण्ड खिइएको, मेरुदण्डको क्षय.रोग, युरीक एसीडबाट पिडित बिरामीलाई स्वास्थ्य सेवा डाक्टरद्धय राजेन्द्र कार्की र राजन कंडेलले दिएका थिए ।

शिविरमा प्राविधिक सहयोग बि.पी.कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, कलेज अफ मेडिकल साईन्सेस भरतपुरले गरेको थियो ।

स्वास्थ्य परीक्षण पूर्व भएको औपचारिक कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख अशोककुमार श्रेष्ठले कार्यक्रमको सहजीकरण का साथै स्वागत मन्तव्य राखेका थिए । सो कार्यक्रमको प्रमुख अतिथि गाउंँपालिकाका अध्यक्ष शशी किरण बस्ताकोटीले मिडिया हाउस र गंगा फाउन्डेशन संग सहकार्य गर्न पाउंँदा खुशी व्यक्त गरे । यस्ता कार्यक्रमले टोलटोलमा सचेतना बृद्धि हुने भन्दै उनले आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

फरक फरक वडामा भएको कार्यक्रममा गाउंँपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्ण सिङ्ग खण्डलुक साथै वडा नम्बर ६ का अध्यक्ष सुर्य बहादुर रानाको सभापतित्वमा सम्पन्न भएको थियो । फाउण्डेशनले गाउंपालिकाको ६ वटै वडामा सचेतना सहित स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरिसकेको छ । नवलपरासी जिल्ला सुगम भनिए पनि यो क्षेत्र भौगोलिक विकटतासंगै जनजाति समुदायको बाहुल्यता रहेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार १९:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।