कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिने प्रयासमा नेपाल सरकारले विभिन्न प्रयासहरू गरिरहेको छ ।
सोही क्रममा सम्भावित संक्रमितको परीक्षण तथा निगरानीको प्रमुख जिम्मेवारी पाएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले कोरोना भाइरस विरुद्धको अभियानका लागि तत्काल आवश्यक परेका थप जनशक्तिको पदपूर्ति करार सेवा मार्फत गर्ने भएको छ ।
टेकु अस्पतालले तीन महिनाको करार अवधिका लागि कन्सलटेण्टसहित स्टाफ नर्ससम्मको आवेदन आह्वान गरेको छ ।
अस्पतालले आइतबार सूचना निकालेर कन्सल्टेण्ट एनेस्थेसियोलोजिष्ट ६ जना, मेडिकल अधिकृत ८ जना, नर्सिङ्ग अधिकृत चारजना र स्टाफ नर्स २६ जनाका लागि आवेदन आह्वान गरेको हो ।
पाँच दिन भित्र इच्छुक योग्यता पुगेका उम्मेदवारले टेकु अस्पतालमै गएर आवेदन दिन सक्ने जनाइएको छ । छनौटका लागि अन्तर्वार्ता लिइने पनि अस्पतालले उल्लेख गरेको छ ।
टेकुमा कोरोनाका बिरामीको मात्रै उपचार गरिने
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना भाइरस कोभिड–१९ का बिरामीको मात्रै उपचार गर्ने भएको छ । टेकुमा रहेका बिरामीलाई अन्य अस्पतालमा रिफर गरेर कोरोनाका बिरामीको मात्रै उपचार गर्ने व्यवस्था मिलाउन लागिएको अस्पतालले जनाएको छ ।
एचआईभी संक्रमित र क्षयरोगका बिरामीले वीर र पाटन अस्पतालबाट उपचार पाउनेछन् भने कुकुरले टोकेको बिरामीको प्रदेश स्वास्थ्य कार्यालय टेकुमा उपचार हुनेछ । अस्पताललाई कोभिडको उपचारमा मात्रै केन्द्रित गर्न पूर्वाधारसमेत थपिएको छ ।
विशेषज्ञलाई जटिल बिरामी मात्रै हेर्ने जिम्मा दिइएको छ भने सामान्य रुघाखोकीका बिरामी हेर्न ज्वरो क्लिनिक व्यवस्था गरिएको छ ।




















प्रतिक्रिया