Logo

समाचार

दमन गर्न खोजे अझ कठोर आन्दोलन गर्ने सरकारी डाक्टरहरुको सरकारलाई चेतावनी



सरकारी चिकित्सक संघले सरकारले आफ्ना मागलाई दबाउने मार्गमा अघि बढे अझ कठोर आन्दोलन गर्ने चेतावनी दिएको छ । संघले आज विज्ञप्ति प्रकाशित गरी अब गरिने कठोर आन्दोलनका लागि तयार रहन सम्पूर्ण चिकित्सकलाई आव्हान गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘संघको जारी देशव्यापी आन्दोलनलाई लिएर सरोकारवालाले विभिन्न भ्रामक विज्ञप्ति तथा मिडियाहरूका माध्यमबाट यस संघको जायज मागलाई दबाउने, चिकित्सकहरूलाई डराउने(धम्काउने जस्ता क्रियाकलापले सरकार पक्ष हाम्रो आन्दोलनलाई थप कडा भन्दा कडा बनाउन चाहेको जस्तो देखिन्छ ।’

संघले तत्काल वार्ताको वातावरण निर्माण गरी चिकित्सकहरूका सम्पूर्ण माग ठोस र स्थायी रूपले पुरा गरी आन्दोलन गर्नै नपर्ने अबस्था ल्याउन पनि सरकरलाई अपील गरेको छ ।

यस्तो छ सरकारी चिकित्सकको विज्ञप्ति

२०७५-१२-२६

प्रेस विज्ञप्ति

गैर-जिम्मेवार, अवैज्ञानिक र अन्यायपूर्ण समायोजन प्रक्रिया लगायतका विरुद्ध आफ्ना मागहरूलाई सम्बोधन गरियोस् भनी यो संघले महिनौ देखि शान्तिपूर्ण आन्दोलन र राजनितिक पहल लगायतका बिरामीहरूलाई मर्का नपर्ने खालका तरिकाबाट आवाज उठाउँदा पटक पटक झुटो आश्वासन पाएर जायज माग पुरा नभए पछि मात्र हालको “आकस्मिक बाहेकको सेवा बहिष्कार”को अप्रिय विकल्पमा उत्रेको जगजाहेर नै छ । दुर्भाग्यवश सरकारपक्षबाट देशभरीका चिकित्सकको जायज आवाजलाई फेरी पनि नजरअन्दाज गरी समस्या समाधानको साटो झनै बल्झाउने काम भइरहेको हाम्रो ठहर छ ।

त्यती मात्र नभई, यस संघको जारी देशव्यापी आन्दोलनलाई लिएर सरोकारवालाले विभिन्न भ्रामक विज्ञप्ति तथा मिडियाहरूका माध्यमबाट यस संघको जायज मागरूलाई दवाउने, चिकित्सकहरूलाई डराउने-धम्काउने जस्ता क्रियाकलापले सरकार पक्ष हाम्रो आन्दोलनलाई थप कडा भन्दा कडा बनाउन चाहेको जस्तो देखिन्छ ।

तथापी, यो संघ पुनः सरकारपक्षलाई तत्काल वार्ताको वातावरण निर्माण गरी अधिकार प्राप्त सम्बन्धित मन्त्रालयहरूसँग यो संघको सहमति मार्फत चिकित्सकहरूका सम्पूर्ण माग ठोस र स्थायी रूपले पुरा गरी आन्दोलन गर्नै नपर्ने अबस्था ल्याउन अपिल गर्दछ । यस पश्चात समेत सरकार पक्ष आफ्ना चिकित्सकहरूलाई दमन गरेरै जाने मनस्थितिमा उत्रिएमा भने सम्पूर्ण सरकारी चिकित्सक झनै कठोर आन्दोलनको अप्रिय मार्गमा जान बाध्य हुने र सोका लागि सम्पूर्ण चिकित्सकलाई तयार अबस्थामा रहन यो संघ आह्वान समेत गर्दछ र सोको जिम्मेवार सरकारपक्ष नै हुनेछ ।

डा. रविन खड्का डा. दिपेन्द्र पाण्डे
महासचिब अध्यक्ष

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलवार १०:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।