आज विश्व धुम्रपान तथा सुर्ति रहित दिवस । सुर्तिजन्य पदार्थले मानव स्वास्थयमा पार्ने नकारात्मक असर बारे सन्देश दिदै विश्वभर मनाइदैछ । धुमपानका कारणले हुने क्षति न्युनिकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्धेश्यले विश्व स्वास्थ्य संगठन धजय को अह्वानमा प्रत्येक वर्ष मे ३१ तारिखमा विश्वभर यो दिवश मनाउने गरिन्छ ।
सुर्तिजन्य पदार्थको खपत कम गर्न प्रभावकारी निति निर्माण आवशयक रहेको तर्फ दिवसले विश्व समुदायको ध्यान आकर्षण गरेको छ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सदस्य राष्ट्रहरुको संलग्नतामा सन् १९८७ देखि मनाउन थालिएको हो । यस बर्ष यो दिवस “सूर्तीमा कर बढाऔं, मृत्यु र रोगलाई घटाऔं” भन्ने नारासहित मनाइँदै छ ।
नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइन्छ । विश्व स्वास्थ्य संगठनकाअनुसार विश्वभर बर्षेनी करिब ६० लाख व्यक्तिको मृत्यु सुर्तीजन्य पदार्थ सेवनले हुने गरेको छ । त्यसमध्ये सूर्तीजन्य पदार्थको सेवन गर्ने मानिसको नजिक रहेकै कारणले मृत्यु हुनेको सङ्ख्या ६ लाख रहेको छ ।
सूर्तीजन्य पदार्थ सेवनले नेपालमा भने बर्षेनी १६ हजार व्यक्तिको मृत्यु हुने सरकारी तथ्याङ्क छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्ममा हरेक वर्ष सूर्तीजन्य पदार्थ सेवनबाट हरेक वर्ष मृत्यु हुनेको सङ्ख्या ८० लाख पुग्ने अनुमान गरेको छ । नेपालमा आधाभन्दा बढी पुरुष सूर्तीजन्य पदार्थको अम्मलमा रहेको तथ्याङ्क छ ।
नेपालमा ५२ प्रतिशत पुरुष र १३ प्रतिशत महिला सूर्तीजन्य पदार्थको अम्मल रहेको पाइन्छ । धुमपानको धुवाँमा निकोटिन तथा टारको मात्रा दोब्बर हुने भएकाले स्वास्थ्यका लागि निकै हानिकारक मानिएको छ ।
धुमपान गर्नेहरूलाइृ मुटु, रोग, दम र क्यान्सर हुने सम्भावना बढी हुने गरेको छ । सुर्तीजन्य पदार्थको प्रयोगलाई मात्रै रोक्न सकेपनि ४० प्रतिशत क्यान्सरको भार घटाउन सकिने अध्ययनले देखाएको छ ।
सरकारले सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई जरिवाना गर्ने, सुर्तीजन्य पदार्थको विज्ञापन, प्रवर्द्धन तथा प्रायोजन गर्न नपाईने लगायतको व्यबस्था गरेको भए पनि प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन ।




















प्रतिक्रिया