Logo

विविध

आज विश्वकर्मा पुजा घर घरमा मनाइयो, विश्वकर्मा मन्दिर बन्द



विगत बर्षहरुमा तामझाम र उत्साहका साथ मनाइने गरेको विश्वकर्मा पुजा यस बर्ष सबैले घर घरमा खुम्चिएर मनाउनुपर्ने बाध्यता रहेको छ । कोरोनाको कहर अझै पनि समाप्त नभएका कारण स्थानीय सरकार धरान उपमहानगरपालिकाले आस्थाकै केन्द्रविन्दु विश्वकर्मा मन्दिर बन्द गरिदिएपछि भने यो पर्व अझ प्रभावित बनेको हो ।

सरकारले असोज १ गतेदेखि सार्वजनिक सवारीका साधन चल्न दिने निर्णय गरेको भएपनि लामोे समयदेखि लकडाउनले थलिएका यातायात व्यवसायी तथा उद्योगी व्यवसायीहरुले यसपटकको विश्वकर्मा पूजा घर घरमै मनाएका हुन् । ६ महिना पछि पहिलो पटक धरानबाट कोशी पहाडी क्षेत्र तेह्रथुम, धनकुटा, संखुवासभा हिडेका ट्याक्सीका चालकहरुले धरान ८ तीनकुनेमा रहेको विश्वकर्मा मन्दिर बन्द गरेको र व्यवसाय नै नभई थलिएका कारण यसपटकको विश्वकर्मा पूजामा त्यति उत्साह नभएको बताए ।

उनीहरुले कोरोनाको कहर अझै पनि रहेका कारण उत्साह नभएपनि भौतिक दूरी कायम गरेर भएपनि मन्दिर खोल्दिएको भए राम्रो हुने उनीहरुको भनाई छ । भीडभाडका कारण कोरोना संक्रमणको जोखिम हुने भन्दै धरान उपमहानगरपालिकाले मन्दिर बन्द गरेसंगै मन्दिर प्रांगरणमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र नगर प्रहरी खटिएका छन् । अगाडिका बर्षहरुमा विश्वकर्मा पूजाका अघिल्लो दिन राती १० बजेदेखि हजारौ सवारी साधनको लाइन लाग्ने यो मन्दिरमा यसपटक सुरक्षाकर्मीले मन्दिरमा सवारी साधन रोक्न दिएको छैन ।

मन्दिरका पूजारी प्रहलाद रेग्मीले कोरोनाका कारण यस बर्ष विश्वकर्मा पूजा समेत प्रभावित बनेको बताए । बर्षमा एक पटक यस मन्दिरमा थामिनसक्नु भीड हुने गरे पनि यस बर्ष मन्दिरमा पूजा गर्नेको संख्या न्यून रहेको बताए । उनले विश्वकर्मा पूजाकै दिन नया सवारी साधन किन्ने र पूजा गर्नेको संख्या पनि उल्लेख्य हुने गरेपछि यसपटक भने नया सवारी साधन खरिद गर्ने कोही नआएको बताए ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार १४:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।