विराटनगर आँखा अस्पताल देशकै अब्बल आँखा अस्पतालका रुपमा चिनिएको छ । नेपाली मात्र होइन, छिमेकी मुलुक भारत, भुटान, बङ्गलादेश लगायतबाट पनि यहाँ बिरामी आउने गर्छन् ।
सन्तुलित आहार नलिने, हरियो सागसब्जी नखाने, स्वच्छ वातावरणमा नबस्ने, आँखालाई सामान्य रुपमा लिने मानिस नै आँखाका बढी रोगी हुने गरेको चिकित्सकहरु बताउँछन् । सन् २००४ मा भाडाको घरबाट शुरु भएको बिराटनगर आँखा अस्पतालमा अहिले वर्षमा एक लाखभन्दा बढी विरामीको आँखाको बिभिन्न शल्यक्रिया हुँदै आएको छ । फेको, जेप्टोजस्ता आधुनिक प्रविधिमार्फत मोतिविन्दुको सफल उपचार हुने गरेको छ भने जलविन्दु, रेटिनाको विशेष शल्यक्रिया, आँखाको नानीको प्रत्यारोपण, ओकुलोप्लास्टी समेत आधुनिक प्रविधिमार्फत गरिँदै आएको छ ।
“आँखामा लाग्ने रोगकै कारण अहिले पूर्वाञ्चलका मानिसहरु बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ”, विराटनगर आँखा अस्पतालका प्रबन्धक कुमार प्रिठुले भने , “बरु बाहिरबाट उपचारकै लागि आउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।”
यहाँ स्थापना भएका आँखा अस्पतालहरुमध्ये सबैभन्दा धेरै विराटनगर आँखा अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामीको आँखाको परीक्षण तथा उपचार हुँदै आएको छ । तीमध्ये सबैभन्दा बढी भारतीय नागरिक हुन् । “स्वदेशी र भारतीय नागरिक मात्रै होइन, यस अस्पतालमा उपचारका लागि भुटान र बङ्गलादेशबाट पनि बिरामी आउने गर्छन्”,प्रबन्धक प्रिठूले भने ।
सन् २०१९ मा विराटनगर आँखा अस्पतालमा छ लाखको आँखा र कानको उपचार भएको तथा ७२ हजार बिरामीको शल्यक्रिया भएको सो अस्पतालले जनाएको छ । यसबाहेक, विराटनगर आँखा अस्पतालमा व्याचलर इन अप्थेल्मोलोजी रेसिडेन्सी कार्यक्रम सञ्चालन हुँदै आएको छ भने बिभिन्न फेलोसिपका कार्यक्रमसमेत सञ्चालित छन् । दातृ निकायको सहयोग, मेहनती टिम तथा सस्तो, सुलभ तथा गुणस्तरीय सेवाका कारण पनि अस्पताललाई यो स्थानमा पुर्याउन सम्भव भएको उनको भनाइ छ ।
मानिसलाई आँखाको नानी नपाएर अन्धो भएर बस्नुपर्ने बाध्यता छ । ‘आँखा दान महादान’ भन्ने नारा गाउँगाउँसम्म पुग्न सकेको छैन् । आफू मरेपछि गरिने आँखा दानबारे आम नागरिक अझै पनि सचेत र जागरुक हुन सकेको छैन । त्यसैले अस्पतालले विभिन्न ठाउँमा गएर आँखा दानबारे जनचेतना फैलाउन खालका कार्यक्रम गर्दै आएको उहाँले जानकारी दिए । सन् २०१९ मा अस्पताललाई पाँच जना व्यक्तिबाट १० वटा आँखाको नानी प्राप्त भएको प्रबन्धक प्रिठुले जानकारी दिएका छन् ।
विराटनगर महानगरपालिकास्थित पुरानो अस्पताल रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानका डा: भाष्कर झाले बन्दाबन्दीयता बिरामीको सङ्ख्यामा कमी आएको जानकारी दिए । उनका अनुसार आँखाको उपचारका लागि अस्पतालमा अहिले दैनिक तीन सयको हराहरीमा बिरामी आउने गरेका छन् । तीमध्ये अधिकांश मोरङ, सुनसरी र भारतका छन् । अहिले स-साना बालबालिकामा आँखाको समस्या दिन प्रतिदिन बढ्दै गएको डा: झाको भनाइ छ ।
बच्चाहरुमा अहिले आँखा चिलाउने, टाउको दुख्ने समस्या बढ्दै जानु र चस्मा अनिवार्य नै भइरहेको बताउँदै उनले बच्चाहरुले धेरै मोबाइल हेर्नु, नजिकबाट टिभी हेर्नु नै ठूलो समस्या रहेको र यस्तो कुरामा परिवारले धेरै ध्यान दिनुपर्ने बताए। गोल्छा अस्पतालमा धेरैजसो बिरामी मोतिविन्दु र जलविन्दुको उपचारका लागि आउने गरेका छन् ।




















प्रतिक्रिया