जनगुनासो सुन्न र त्यसलाई समाधानको पहल गर्ने उद्देश्यले प्रदेश सरकारले गएको असोज १३ गते सञ्चालनमा ल्याएको हेलो मुख्यमन्त्री वेबसाइटमा एउटा फरकखालको गुनासो दर्ता भयो ।
गुनासो थियो, “म एक दृष्टिविहीन हुँ । बाटोमा बसेर सामान बेच्न महानगरले दिँदैन । घरघरमा गएर सामान बिक्री गर्न गाह्रो हुन्छ । चिप्लेढुंगा र पृथ्वीचोकमा बाटोको किनारमा बसेर हामी दृष्टिविहीनहरुले सामान बेच्न पाउनुपर्यो ।”
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सोही दिन सम्बन्धित सरकार, पोखरा महानगरलाई पठायो । उक्त गुनासोबारे महानगरमा सम्पर्क गर्दा आधिकारिक रुपमा प्राप्त नभएको भन्ने जवाफ पाइयो । यद्यपि गुनासोको विषयमा भने महानगरले ‘माया र कानुन एकैसाथ हुँदैन’ भन्ने प्रतिक्रिया दियो ।
पोखरा महानगरपालिकाको सबैभन्दा ठूलो चुनौती भनेको सडक व्यवस्थापन हो । बढ्दो सवारी चापका कारण सडकमा सवारी घनत्व पनि बढेको छ । यात्रुहरुलाई सहजरुपमा आवागमनको लागि लागि बनाइएको फुटपाथमा व्यापार गर्न महानगरपालिकाले दिँदैन । महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले भने, “फुटपाथ भनेकै हिँड्नको लागि बनाइएको हो, व्यापारिक प्रयोजनका निम्ती होइन ।”
दृष्टिविहीनहरुले घरघरमा गएर बेच्न सकिँदैन, महानगरले फुटपाथमा पनि सामान बेच्न दिन्न भनेर गुनासो गरेका छन् नि भन्ने प्रश्नमा उनले भने, “आज दृष्टिविहीनलाई छुट दिँदा भोलि अर्को आउला, शारीरिक अशक्तता भएको अर्को आउला, यसले झन् भद्रगोल हुन्छ, कानुन सबैलाई एउटै हो ।”
महानगरले यसो भनिरहँदा पोखराका चोकचोकमा फुटपाथे व्यापारीको भीड भने कम भएको छैन । सडकको दुवैपट्टि व्यापार गर्दा यात्रुहरु सहजरुपमा हिँड्न समेत पाउँदैनन् । महानगरपालिकाले फुटपाथमा व्यापार गर्न नदिनका लागि नगरप्रहरी नै खटाएको छ ।
“नगरप्रहरी कम छन्, २२–२४ जना जति होलान्, तिनीहरु पनि सिफ्टमा काम गर्छन् । कार्यालय, पदाधिकारीको सुरक्षामा पनि खटिनुपर्यो । यसैले पूर्णरुपमा नियन्त्रण हुन नसकेको हो,” सुवेदीले भने ।
फुटपाथमा सामान बिक्री गर्नेहरुले कर पनि नतिर्ने, दर्ता नगरी व्यवसाय चलाउँदा अन्य व्यवसायीलाई पनि नोक्सान हुने र मुख्यतः यात्रुहरुलाई असहज हुने हुँदा यसको नियन्त्रण गर्न खोजिएको महानगरले जनाएको छ ।
महानगरपालिकाका विपत, व्यवस्थापन तथा सुरक्षा शाखाका प्रहरी नायब उपरिक्षक वसन्त चालिसे भन्छन्, “अस्ति दृष्टिविहीनहरुले गीत गाएका सामग्री पनि नियन्त्रणमा लिएका हौँ, एउटालाई छाड्ने अर्कालाई दिने भन्ने हुँदैन ।”
उसो त महानगरले समयसमयमा सामान जफत गर्ने र जरिवाना तिराएर छाड्ने गरेको छ । हाल महानगरपालिकाले फुटपाथका व्यापारीहरुबाट न्यूनतम पाँच सय रुपैयाँ जरिवाना लिँदै आएको छ ।




















प्रतिक्रिया