Logo

गण्डकी प्रदेश

एक दिनमै बन्यो विजयपुर खोलामा डाइभर्सन



विजयपुर खोलामा मंगलबार नै डाइभर्सन बनेको छ । पोखरा विमानस्थल निर्माण गरिरहेका चिनियाँ कामदारहरुले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङकोआग्रहमा १ दिनमै डाइभर्सन बनाएका हुन् । चिनियाँ सिएएमसी इञ्जिनियरिङ कम्पनी र सडक डिभिजन कार्यालय पोखराले संयुक्त रुपमा २४ घण्टा भित्रै पुनर्निमाणको काम सम्पन्न गरेको हो ।

आइतबार राति भत्किएको डाइभर्सन भएकै ठाउँमा मंगलबार साँझसम्ममा डाइभर्सन बनेको हो । सोमबार रातिदेखि नै सामान झार्न सुरु गर्ने चिनियाँ अधिकारीले मुख्यमन्त्रीलाई बचन दिएका छन् । मुख्यमन्त्रीले सोमबार साँझ विजयपुर पुगी बगेको डाइभर्सनसमेत अवलोकन गरेर चिनियाँहरुसँग कुराकानी गरेका थिए ।

मुख्यमन्त्री गुरुङले बेलिब्रिज बन्न सोचेभन्दा अझै समय लाग्ने देखिएको हुँदा तुरुन्तै डाइभर्सन बनाउन आग्रह गरेका थिए । सेती नहरबाट विजयपुर खोलामा मिसिएको पानी घटाएर काम सुरु भएको थियो । ठूलो पानी नपर्दै खोलामा आएको बाढीका कारण डाइभर्सन नै बगाएपछि अब बेलिब्रिजकै काम छिटो गर्न ठेकेदारलाई भनिएको सडक डिभिजन पोखराका प्रमुख हरिकुमार पोखरेलले बताए । असारसम्म बन्ने भनिएको बेलिब्रिज भदौसम्म पनि नबन्ने देखिएको छ ।

बेलिब्रिज निर्माणको जिम्मा सगरमाथा जेजे जेभीले पाएको हो । सडक र ठेकेदार कम्पनीसँग वैशाख २२ गते सम्झौता भएर काम धमाधम भइरहेको छ । आउँदो असार मसान्तभित्रमा नै निर्माण सक्ने गरी ठेकेदार कम्पनीले जिम्मा पाएको थियो ।

तर निरन्तर वर्षाका कारण समयमै बेलिब्रिज निर्माण भइसक्ने लक्ष्य भने पूरा हुने देखिँदैन । हाल बेलिब्रिज राख्ने बेसमेन्ट तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ । बेलिब्रिजका सामग्री भने पूर्वको इटहरीबाट ढुवानी भइरहेको छ । अझै १ साता ढुवानीमै समय लाग्ने डिभिजनका इन्जिनियर बताउँछन् । कम्तीमा १५ दिन फिटिङ गर्न समय लाग्ने उनीहरुको भनाइ छ । २ करोड २० लाख रुपैयाँ लागतमा उक्त कम्पनीले बेलिब्रिजको निर्माण ठेक्का पाएको थियो ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार ०६:३६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।