प्रधानमन्त्री केपी शर्मा ओलीको दिनैपिच्छे आलोचना बढ्दै गएको छ । उनका शब्द र व्यवहारले गर्दा विपक्षीहरु मात्र होइन पार्टीभित्र पनि विरोध भएको छ । ओलीले विषादी परीक्षणको विषयमा दिएको अभिव्यक्ति पनि चानचुने छैन । भारतीय राजदूतावासले पत्र पठाइसकेको पाएपनि उनले अहिले आएर पत्र नपाएको र आफूलाई केही थाहा नभएको भनेर नाटक गरेका छन् ।
कर्मचारीले पत्र लुकाएर दिएनन् भने पनि ती कर्मचारीलाई कारवाही गर्छु भन्न सकेका छैनन् ओलीले । दूतावासले पठाएको पत्र सर्वसाधारण जनताले पनि हातहातमा पाइसकेपछि पनि सरकारले पत्र नपाएको भनेपछि ओलीको योभन्दा बेइज्जत हुने अरु ठाउँ छैन । उनले बिहीबार यसबारे माफी मागेका छन् तर यस्तो गम्भीर विषयमा माफी माग्दैमा उन्मुक्ति पाउँछन् कि पाउँदैनन् भन्ने विषय प्रमुख हो ।
सरकार भारतको पक्षमा काम गर्दै आएको छ भन्ने यो घटनाले पुष्टि गर्दछ । त्यस्तै ओली बुधबार त्रिभुवन विश्वविद्यालयको ६० औं वार्षिकोत्सवमा सहभागी हुन जाँदा ओछ्याइएको रातो कार्पेटको बारेमा पनि कसैले जवाफ दिन सकेका छैनन् । हिलोमाथि ओछ्याइएको कार्पेटको मात्र होइन ओलीको ठूलो बेइज्जत भएको छ । रातो कार्पेटमा सयर गर्नुभन्दा जुत्ता मोजा खोलेर हिँडेको भए ओलीको उचाई बढने थियो । न त त्यो ओलीले बुझे न त उनका अरौटेभरौटेहरुले नै सल्लाह दिए । गणतन्त्र स्थापना भएपनि राजतन्त्रकै जस्तो ढर्रा र सामन्ती पारा कायमै छ । राष्ट्रपति, मन्त्री र अन्यले आफ्ना जुत्ताचप्पल बोकाउने प्रथा पनि रोकिएको छैन ।
जथाभावी भाषण र अर्कालाई गाली गरेर सरकार, ओली र मन्त्री बिग्रिएका छन् । समानान्तर शक्तिका प्रचण्डलाई गाली गर्न पनि पछि नपर्ने ओलीको कार्यकाल पनि प्रभावकारी नबनेपछि उनको अस्थायी जागिर कहिले सकिएला भन्ने मानिसहरुले प्रश्न गर्न थालेका छन् । ओलीले आलोपालो सहमति अनुसार प्रचण्डलाई सरकार नदिने भनेपनि प्रचण्ड पक्षधर सल्बलाएका छन् भने ओलीका चाकडीवाजहरु भने प्रचण्डलाई कुनै पनि हालतमा सरकार दिनु हुँदैन भनेर लविङ गर्न थालेका छन् ।




















प्रतिक्रिया