चिकित्सा शिक्षाका विद्यार्थीसँग सअवैध शुल्क असुलेर विवादित बनेको चितवन मेडिकल कलेजविरुद्ध भोलिबाट आन्दोलन चर्काउने चेतावनी दिइएको छ ।
त्यहाँ अध्ययनरत विद्यार्थी र तिनका अभिभावकको तर्फबाट आइतबार एक संयुक्त प्रेस वक्तव्य जारी गर्दै अवैध शुल्क फिर्ता गर्न भोलि सोमबार बिहान ११ बजेसम्मको समयसीमा दिएको छ ।
चिकित्स शिक्षा संघर्ष समिति र अभिभावक संघर्ष समितिले जारी गरेको संयुक्त प्रेस वक्तव्यमा कलेज प्रशासनले बढी असुलेको रकमको बिलभर्पाई दिन अटेर गरेको र अवैध शुल्कबारे प्रतिवेदन तयार पार्ने विषयमाथिको छलफलमा नबसेर कलेज प्रशासन भागेको कुरा उल्लेख गरिएको छ ।
असोज १० गतेभित्र प्रतिवेदन तयार पार्ने गरी अवैध शुल्कबारे अध्ययन र छानबिन गर्न कलेज प्रशासन, अभिभावक, विद्यार्थी र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सम्मिलित समिति चितवन जिल्ला प्रमुख अधिकारीको उपस्थितिमा गत हप्ता सहमति भएको थियो । तर कलेज यसबाट भागेपछि संघर्ष समितिले भोलिसम्मको अल्टिमेटमा दिएको हो ।
पीडित विद्यार्थीहरुका अनुसार कलेज प्रशासनले सरकारले तोकेको भन्दा ६ देखि २० लाख रुपैयाँसम्म बढी लिएर गैरकानूनी कार्य गरेको भन्दै न्यायका लागि विद्यार्थी र अभिभावक संघर्षमा उत्रिएका छन् । कलेजको असहयोगबारे जिल्ला प्रशासनलाई जानकारी गराइसकिएको समेत वक्तव्यमा उल्लेख छ । तोकिएको समयभित्र सहमति कार्यान्वयन नभए अवैध शुल्कमा ब्याज र जरिवाना थप गरेर फिर्ता लिइने पनि जानकारी दिइएको छ ।
सोमबार बिहान ११ बजेसम्म पनि कलेजले गलत रवैया जारी राखेमा कलेजमा अनिश्चितकालीन आन्दोलन चलाउने चेतावनी उनीहरुले दिएका छन् । अवैध शुल्क फिर्ता गर्नुपर्ने मागसहित भदौ २५ मा चिकित्सा संघर्षसमितिको अगुवाईमा त्यहाँ अध्ययनरत विद्यार्थीहरुले कलेज परिसरमा प्रदर्शन गरेका थिए ।
सोही क्रममा ७ छात्रासहित १८ जना विद्यार्थीलाई प्रहरीले गिरफ्तार गरी २४ घण्टासम्म भरतपुर प्रहरी हिरासतमा राखेर छाडिएको थियो । त्यसपछि अवैध शुल्कबारे अध्ययन र १० गतेभित्र प्रतिवेदन तयार पार्ने सहमति गरिएको थियो ।
वक्तव्यमा चिकित्सा संघर्ष समितिको तर्फबाट संयोजक प्रकाश चन्द र अभिभावक संघर्ष समितिको तर्फबाट संयोजक निर्मला कँडेलले हस्ताक्षर गरेका छन् । संघर्षमा स्थानीय संघ संस्थाको ऐक्यवद्धता प्राप्त हुँदै गएको आन्दोलनकारीहरुले जनाएका छन् ।





















प्रतिक्रिया