विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड – १९) को संक्रमण न्यूनीकरण गर्न युवा व्यवसायी रमेश सिलवालले सरकारलाई केही सावधानी अपनाउन अनुरोध गरेका छन् ।
कोरोना संक्रमण न्यूनीकरणको सरकारले अहिले चालेको कदमको समर्थन गर्दै सिलवालले अझै केही सावधानी अपनाउन सुझाव दिएका हुन् ।
अस्पताल र राज्यका उच्च पदस्थ अधिकारीको आवासको सुरक्षामा खट्ने सुरक्षाकर्मीलाई छुट्टै राख्ने व्यवस्था मिलाउन सुझाव दिएका छन् । त्यो सँगै ५५ वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकलाई सेवामा नखटाउन उनको सुझाव छ । त्यो सँगै दूधखाने उमेरका बच्चा भएकाहरूलाई पनि सेल्फ क्वारेन्टाइनमा पठाउन उनको सुझाव छ ।
त्यस्तै सुगर, प्रेसर, दम, मुटुको रोग सहित अन्य रोगका नियमित औसधि खाइरहेका व्यक्तिहरूको स्वास्थमा विशेष ध्यान दिन र नियमित चेकजाँचको व्यवस्था मिलाउनुपर्नेमा जोड दिएका छन् ।
कोरोना संक्रमण नियन्त्रणको यो अभियानमा लाग्ने स्वास्थकर्मी, सुरक्षाकर्मी, स्वयंसेवक र प्रशासनिक कर्मचारीहरूलाई कार्यस्थल नजिकैको सुरक्षीत र सुविधा सम्पन्न होटलमा राखौं र खानपिनको छुट्टै व्यवस्था गर्न सुझाव दिएका छन् ।
कोरोना संक्रमण नियन्त्रणको लागि प्रयोग गरिने सवारी साधनको नियमित सरसफाइमा ध्यान दिनका साथै यस्ता प्रयोजनमा प्रयोग भएका सवारी साधनलाई छुट्टै स्थानमा राख्नको लागि समेत उनले सरकार र सम्बन्धित निकायलाई सुझाव दिएका छन् ।
यो सँगै कोरोना संक्रमण नियन्त्रणको लागि सरकारको निर्णयको पूर्ण पालना गरी महामारी नियन्त्रणको लागि सरकारको साथमा साथ मिलाएर हातेमालो गर्न पनि उनले आग्रह गरेका छन् । हामी नागरिकको हितको लागि नै सरकारले यस्तो निर्णय लिनुपरेको अवगत गराउँदै उनले आफ्नो र आफ्नाहरूको हितको लागि पनि सरकारी कदमलाई पूरापूर साथ दिन समेत अपिल गरेका छन् ।




















प्रतिक्रिया