जापानका प्रधानमन्त्री सिञ्जो आवेले संकटकाललाई देशव्यापी विस्तार गरेका छन् । शुक्रबारदेखि लागु हुने घोषणा गरिएको संकटकाल आगामी मे छ तारीखसम्म कायम रहने प्रधानमन्त्री आवेले जानकारी दिएका छन् ।
सिमाना पार गरेर एक ठाउँबाट अर्को ठाउँ तर्फ जाने कार्यलाई नियन्त्रण गर्नका लागि देशव्यापी संकटकाल घोषणा गर्नुपरेको उनको भनाइ छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सामाजिक दूरी कायम गर्नुपर्ने भएकोले संकटकालको आवश्यकता भएको प्रधानमन्त्री आवेको भनाइ छ ।
प्रधानमन्त्री आवेले यसअघि यही अप्रिल ७ मा केन्द्रीय राजधानी टोकियो र अन्य ६ क्षेत्रमा मात्रै संकटकालको घोषणा गरेका गरेका थिए । यी क्षेत्रहरूमा कोरोना भाइरसको उच्च जोखिम भएकोले संकटकाल लागु गरिएको थियो ।
प्रधानमन्त्री आवेले पहिलो चरणमा घर बाहिर भिडभाड नगर्न र घर भित्रै बस्न आम नागरिकलाई आह्वान गरेका थिए । तर त्यो आह्वान सन्तोषजनक रुपमा पालना नभएपछि उनले सङ्कटकालको घोषणा गर्नुपरेको हो ।
उनले हरेक जापानी नागरिकलाई एक लाख जापानी येन नगद उपलब्ध गराउने घोषणा पनि गरेका छन् । जापानमा कोरोना भाइरसका कारण शुक्रबार बिहानसम्म नौ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने १९० जनाको मृत्यु भएको छ ।




















प्रतिक्रिया