विगतमा भारतसँग निकै सुमधुर सम्बन्ध रहेका मानिएका प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला भारतप्रति आक्रमक देखिएका छन् । कुनैबेला दिल्ली ओहोरदोहोर गर्ने नेतामध्ये ओली अगाडि थिए । भारतसँग महाकाली सन्धि हुँदा पार्टीभित्रको विरोधलाई तह लगाउन ओली हात धोएर लागेको विगत छ । २०५५ सालमा भारतसँग महाकाली सन्धि दुई तिहाइले पारित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ओलीले सार्वजनिक रूपमा उक्त सन्धिले देशलाई एक खर्बभन्दा बढीको आर्थिक लाभ हासिल हुने बताएका थिए । महाकाली सन्धिलाई लिएर तत्कालीन एमाले विभाजित नै भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमबार संसदमा जवाफ दिने क्रममा गत हप्ता ‘भारतीय भाइरस’ कडा भनी अभिव्यक्ति दिएका थिए । उनको यो अभिव्यक्तिलाई भारतमा निकै गम्भीरताका साथ लिइयो । नेपाल मामलाका जानकार भारतका प्राध्यापक सुकदेव मुनीले ओलीले ‘भारतीय भाइरस’ भनेर गम्भीर गल्ती गरेको प्रतिक्रिया दिए ।
मुनी मात्र नभई भारतका कतिपय बौद्धिक व्यक्तिले ओलीको आलोचना गरे । तर, ओली आफ्नो अभिव्यक्तिको बचाऊमा देखापरे । १२ जेठमा देशवासीका नाममा सम्बोधन गर्दै भारतबाट स्वदेश फर्किएकाहरुले नेपालमा कोरोना भाइरसको संक्रमण फैलन योगदान पुर्याएको बताए । उनले भारतको आलोचना गर्दै भने, ‘विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुरुप घर फर्किनेहरुको सीमा पार गर्नुअघि अनिवार्य परीक्षण हुनुपर्ने थियो, जसले महामारीलाई समुदाय स्तरमा फैलिनबाट धेरै हदसम्म जोगाउन सक्थ्यो । तर छिमेकी मित्र राष्ट्र भारतबाट अधिकांश घर फर्किनेहरु नियमको पालना र परीक्षणबिना नै, अनेक कष्ट झेल्दै ठूलो संख्यामा सीमा पार गरिरहनु भएको छ । परीक्षणको अभावमा महामारी तीब्र गतिमा फैलिनमा यसले पनि योगदान गरिरहेको छ ।’
प्रधानमन्त्री ओलीले भारतको प्रतिक चिन्हको विषयमा पनि बोल्दै सत्यमेव जयते कि सिंहमेव जयते ? अब सोध्न चाहेको बताए । भारतको प्रतिक चिन्हबारे उनले दिएको अभिव्यक्तिलाई पनि प्राध्यापक सुकदेव मुनीले गम्भीर गल्ती भनेका छन् । भारतीय सञ्चारमाध्यमले पनि यसबारे कडा टिप्पणी गरे ।
महाकाली सन्धी अन्र्तगत पञ्चेश्वर बहुउद्देश्यीय परियोजना २०५५ सालमै डिपिआर तयार गर्ने भनिएकोमा अलपत्र परेको छ । यसपछि ओली भारतसँग झन् रुष्ट भएका छन् । उनले भारतीय पक्षलाई कुटनीतिक तथा प्रत्यक्ष च्यानलमार्फत् भएका सन्धीमा कि त काम गरौं कि त खारेज गरी नयाँ ढंगबाट अगाडि बढौं भन्ने सम्मका प्रस्ताव गरिसकेका छन् । बाहिर नबोलेपनि उनले महाकाली सन्धी ठिक थिएन भन्ने निष्कर्ष निकालेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।
ओली अहिलेसम्म आइपुग्दा भारतप्रति निकै असन्तुष्ट र आक्रामक देखिएका छन् । उनले घुमाउरो तरिकाले भारतले आफ्नो सरकार ढाल्न खोजेको आरोप समेत लगाए । संसदमा नीति तथा कार्यक्रमबारे सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा सरकार ढाल्ने कल्पना समेत नगर्न चेतावनी दिए । यसरी ओली निरन्तर भारतप्रति असन्तुष्ट र आक्रामक बन्दै गएका छन् । जसलाई भारतले चीनको उक्साहटको रुपमा चित्रण गरिसकेको छ । भारतीय सेनापति एम एम नरवाणेले चीनतर्फ संकेत गर्दै नेपाल को राजनीतिक नेतृत्वले लिपुलेकबारे आपत्ती जनाइरहेको सार्वजनिक रुपमै बोले ।
अहिलेको जारी नक्शा विवादले ओलीको सिधा टक्कर भारतको वर्तमान सत्तासँग देखिएको छ जुन हिन्दुवादी मानिन्छ । भारतको सत्तारुढ भारतीय जनता पार्टी नेपालमा धर्मनिरपेक्ष रुचाइरहेको छैन । भाजपा प्रवक्ता प्रमोद शुक्लाले गत हप्ता एबीपी टेलिभिजन अन्तवार्तामा विगतमा भारतकै पालनपोषणमा कम्युनिस्टले हिन्दु राष्ट्रमाथि धावा बोलेको टिप्पणी गरेका छन् । भारतीय सेनाका पूर्व जनरल गगनदिप बक्सीले माओवादीलाई उठाएर हिन्दु राष्ट्र ध्वस्त पार्नु भारतको आत्मघाती गोल भनिसकेका छन् । यसबाट अहिलेको अनेक प्रकारका राजनीतिक अस्त्रहरुको ध्येय फरक बाटोतर्फ मोडिएको देखिदै गएको छ । ओली यसकारण पनि भारतको वर्तमान सत्ताप्रति आक्रामक बन्दै गएका छन् ।




















प्रतिक्रिया