Logo

राजनीति

खुल्लामञ्च मासेर सडकमा तमासा (फोटोफिचर, भिडियोसहित)



 सुजाता अम्गाईं /वीरेन्द्र बोहरा

खुल्लामञ्चले धेरै नेता जन्मायो । निरंकुशताका भीमकाय बज्र ढाल्ने विगुल यहीँबाट फुकियो । देशका ऐतिहासिक क्रान्तिका शंखनाद यही भूमिबाट भयो । क्रान्तिको सफलतापछि फूलमाला र अविरले पुरिएका नेताहरुले देशको मुहार फेर्ने संकल्प यही भूमिको माटो छोएर गरे । नेता पारी गए, खुल्लामञ्च वारी नै बस्यो । के राजावादी, के माओवादी, के कांग्रेस, के राप्रपा सबैको पूँजी खुल्लामञ्च अस्तित्वको लडाईंमा छ । खुल्लामञ्च सिध्याउन सत्तासिन, प्रतिपक्षी सबैको समान योगदान छ । बच्चा माकुराले माउ माकुरा सिध्याएजस्तै नेताहरुले साझा पूँजी खुल्लामञ्चको सातो लिएका छन् ।

यही ठाउँ हो, जहाँ नेताले जनतालाई आफ्नो एजेण्डा सुनाउँथे । जनता कर्तल ध्वनिले स्वागत गर्थे । यसले कसैलाई भेदभाव गरेन । राजामहाराजादेखि नेता, अभिनेता सबैलाई समान स्थान दियो । घण्टाघर, भद्रकाली, रानीपोखरी र धरहरा साँचि राखेर बसेको जनताको नासो सत्ता र शक्तिको फोहोरी थिचोमिचोमा परेर सर्वनासको अवस्थामा छ । यसको अधिकांश भाग बसपार्कले ओगटेको छ ।

नेताहरु उर्लिएर भाषण गर्ने थलोको बेहाल अक्षरले गरी साध्य छैन । यो कवाडखाना हो या जनताको नासो हो, छुट्याउन कठिन छ । निर्माणजन्य सामग्री, पठनपाठनका लागि दरबार स्कुलले बनाएको अस्थायी टहरो ज्यूँ का त्यूँ छन् । यहाँभित्र पसेर हेर्नेले यो खुल्लामञ्च हो भन्ने भेउ नै पाउँदैन ।

लागूऔषधको कुलतमा फसेकाहरुले यो मञ्चलाई खेलखोर बनाएका छन । उनीहरुको गाँसबास, कपास त्यहीँभित्र चल्छ । वरिपरि हेर्दा खुल्ला शौचालयको अभ्यास त्यहीँबाट शुरु भएको छ । बाँकी रहेको खुल्ला भाग अस्तव्यस्त पार्किङको मनमौजी रंगशाला बनेको छ । जसले जे गरेपनि न्याय नै हुने रहेछ भन्ने भद्दा दृश्य यहाँभित्र देख्न पाइन्छ ।

देशमा शक्तिप्रदर्शनको सिजन छ । कम्युनिष्ट पार्टीका शीर्ष नेतामा आएको मतभेद, मनभेदपछि उनीहरुले देशैभरिबाट कार्यकर्ता बटुलेर को भन्दा को कमको पौंठेजोरी खेलिरहेका छन् । यी सबै दृश्य खुल्लामञ्च परबाट हेर्न बाध्य छ । नेताहरु सडक र पार्टी प्यालेसमा कार्यक्रम गरेर दम्भ प्रदर्शन गरिरहँदा आफ्नै सन्तानबाट हेलाको शिकार बनाइएको अभिभावक झैं निर्मम प्रहार खप्न खुल्लामञ्च विवश छ । यही खाली रहेको जमिनमा केही समयपछि भौतिक संरचना बन्यो भने आश्चर्य नमाने हुन्छ । नासिँदा नासिँदै मासिदा मासिदै पनि खुल्लामञ्चले एउटा अप्रिय सत्य सन्देश प्रवाह गरेको छ । त्यो के भने राजनीतिक नेतृत्वले देशलाई नै खुल्लामञ्च बनाएको छ । खुल्लामञ्च नेतृत्वमा सकिएको इमान र इज्जतको नमूना हो ।

खुल्लामञ्च भ्रष्टाचार अनि दलालीतन्त्रको जिउँदो उदाहरण हो । खुल्लामञ्च जसलाई इमानदारपूर्वक गुन लगायो, उसैलाई सिध्याउने बैगुनीतन्त्रको खुलासा हो । राजनीतिमा इमान बचेको छ भने खुल्लामञ्चलाई हेरेर फर्कने कोशिस गरौं । सुकेको रानीपोखरीको सौन्दर्य फर्काउन सकिन्छ भने उजाडिएको खुल्लामञ्चको श्रृंगार गर्न कसो नसकिएला ?

 

1.jpg

2.jpg

4.jpg

5.jpg 

6.jpg

7.jpg 8.jpg

10.jpg 

प्रकाशित मिति : २ फाल्गुन २०७७, आईतवार ११:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।