Logo

कर्पोरेट फोकस

पटक पटक किन छोड्छन् ओली पार्टीका छलफल र बैठक ?



यतिबेला प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ नेकपाको सचिवालय बैठक जारी छ । सचिवालयमा महत्त्वपूर्ण राजनैतिक विषयमा छलफल चलिरहेको छ । प्रचण्ड बहुमत सहित सत्ताको नेतृत्व गरिरहेको पार्टीको सचिवालय बैठकले के कस्तो निर्णय गर्ला र त्यसको प्रभाव कस्तो पर्ला भन्दा पनि यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक किन पटक पटक छोड्छन भन्ने चर्चा स्थायी कमिटीको बैठक देखि चिया पसल सम्म चर्चामा छ ।

प्राविधिक रूपमा दुई तिहाई नजिकको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओली पार्टीभित्रको समीकरणमा भने ‘बिचरा’ भन्ने तहको अवस्थामा छन् । पार्टीको स्थायी कमिटी बैठक चलिरहँदा प्रधानमन्त्री ओली भने पराजित मानसिकता लिएर बैठकमा सहभागी हुनु परेको छ । बुधबारबाट सुरु भएको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले गरेका लम्बेतान भाषण र दाबीलाई उनकै पार्टीका शिर्ष नेताहरूले पत्याएनन र अन्त्य ओलीले प्रश्न गरे ‘के म बेसार कै कारण राजिनामा दिउँ ?’ यसले पनि ओली अहिले कुन मनोदशाबाट गुज्रिएका छन् त्यो प्रष्ट हुन्छ ।

पार्टी एकताका बाँकी कामहरू सम्पन्न गर्ने, सरकारको कामको समिक्षा सहित विवादित बन्दै गएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लगायतका विषयमा छलफल गर्ने एजेन्डा सहित सुरु भएको स्थायी कमिटी बैठक ओलीको रहरले नभएर बाध्यताले स्वीकार गरेका हुन् । विभिन्न बहानामा स्थायी कमिटीको बैठक टार्दै आएका ओलीलाई प्रधानमन्त्री निवासमै आयोजित पार्टीको स्थायी कमिटीको बैठक ‘निल्नु न ओकल्नु’ जस्तो भएको छ । स्वास्थ समस्या देखाउँदै पार्टी कार्यलय धुम्बाराहीमा आयोजित हुने भनिएको बैठक अन्तिम समयमा बालुवाटार सारिएपनि प्रधानमन्त्री ओली भने कहिले कार्यव्यस्तता तथा कहिले स्वास्थ समस्या भन्दै बैठक छोडिरहेका छन् ।

प्रधानमन्त्री ओली यतिबेला अजेय सेनाको पराजित सेनापतिको भूमिकामा छन् । संसदीय अंकगणितमा पार्टीको प्रचण्ड बहुमत हुँदाहुँदै स्थायी कमिटीमा ओलीको शक्ति लगातार क्षीण भैरहेको छ । अहिले चलिरहेको स्थायी कमिटी बैठकमा ओलीको पक्षमा ओली सहित १३ सदस्य हुँदा उनको विरोधी समूह (प्रचण्ड – नेपाल गठबन्धन) मा ४४ स्थायी कमिटी सदस्य छन् । यसैले गर्दा ओली यो स्थायी कमिटीको बैठकबाट कुनै ठोस निर्णय नहोस् भन्ने रणनीतिमा छन् । यसैका लागि ओली पटक पटक स्थायी कमिटी बैठक बहिष्कार नै गरिरहेका छन् ।

जब स्थायी कमिटी बैठक विषयगत छलफलमा प्रवेश गर्ने कार्यसूची बन्यो तब ओली बैठकमै सहभागी भएनन् । बैठकमा सहभागी नभएको भनेर आलोचना सुरु भएपछि बैठकमा सहभागी भए तर, स्वास्थ समस्या देखाउँदै बाहिरिए । खासगरी कोभिड नियन्त्रणमा सरकारले गरेका काम कामकारबाही र अमेरिकी विकास सहायता एमसीसीको विषयमा छलफल हुने कुराले ओलीलाई बेचैनी भएको छ ।

कोभिड नियन्त्रणका लागि भन्दै लकडाउन मात्रै थपेको भनेर आलोचना भैरहेको समयमा स्वास्थ सामाग्री खरिदमा भएको अनियमिततामा प्रधानमन्त्रीकै संलग्नता रहेको ठोकुवा उनकै पार्टीका नेताहरूले गरिरहेका छन् । क्वारेन्टिन कोभिड प्रसारण केन्द्र बनेको छ । यतिमात्र होइन क्वारेन्टिनमा बसेकी महिला स्वयंसेवकबाटै बलातकृत भएकी छिन् । स्वास्थ सामाग्री खरिदमा नेपाली सेना समेत भ्रष्टाचारको आरोपमा मुछिएको छ । यावत् विषय उठ्ने बित्तिकै ओलीले सरकारको नेतृत्व गरिरहेका नाताले जवाफ दिनुपर्छ तर त्यो जवाफ दिने नैतिक र व्यवहारीक हैसियत नै समाप्त भै सकेको छ । यसकारण स्थायी कमिटी बैठक पटक पटक छाड्न ओली बाध्य छन् ।

पछिल्लो समय निकै विवादित बनेको एमसीसीको सम्बन्धमा समेत स्थायी कमिटी बैठकमा छलफल आवश्यक नै नभएको ओलीको निष्कर्ष छ । असार १५ गतेसम्म एमसीसी अनुमोदन गरिसक्नुपर्ने भएपनि सभामुख अग्नि सापकोटाले १७ असारमा मात्रै संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक बोलाएका छन् । कार्यकारी अध्यक्ष प्रचण्डको इशारामा सभामुखले संसद रोकेर एमसीसी फेल गराइएको भन्दै यतिबेला ओली स्थायी कमिटी बैठक भन्दा प्रचण्डलाई कन्मिन्स गर्ने शक्तिको खोजीमा जोडतोडले लागेका छन् । भलै अमेरिकी एजेन्सी देखि राष्ट्रपति सम्मले प्रचण्डलाई पक्षमा ल्याउने कोशिश गरिसकेका छन् । अहिले पनि ओली प्रचण्डलाई कन्मिन्स गराउने शक्तिकै खोजमा छन् । त्यसले पनि स्थायी कमिटीको बैठकमा उनको दिलचस्पी देखिंदैन ।

सत्तारूढ नेकपामा यतिबेला प्रचण्ड समूह हावी छ । पूर्वमाओवादी सँग सति जान नहुने भन्दै पूर्वएमाले समूहलाई एकीकृत गर्ने असफल प्रयत्नमा ओली छन्य, यतिबेला त्यसैको लागि आफूनिकट स्थायी कमिटी सदस्यहरूलाई दिनभर बैठकमा र रातभर पूर्वएमाले नेताको निवासमा सन्देश पठाउन व्यस्त हुँदा स्थायी कमिटीको बैठकमा सहभागी भएर आलोचना सुन्ने र त्यसको जवाफ दिन रत्तिभर इच्छुक छैनन् ओली ।

सरकारका काम कारबाहीको समिक्षाको नाममा पार्टीले आफ्नो प्रधानमन्त्री पदप्रती ‘कू’ गर्ने खतरा रहेको भन्दै त्यसको प्रतिकारको पनि रणनीति बनाउनुपर्ने बाध्यतामा छन् ओली । सीमा विवादका कारण भारतको दुश्मन बनेका ओली बिआरआई र एमसीसीको चेपुवामा पर्दा कुनै समयको प्राणदायक चीनको समेत विश्वासपात्र बन्न सकेका छैनन् भने एमसीसी अनुमोदन गर्न नसक्दा अमेरिकाले पनि पत्याएको छैन् । त्यसले अमेरिकी विदेश मन्त्री माइक पोम्पियोलाई परराष्ट्रमन्त्री मार्फत फोन गर्न लगाएर एमसीसीको म्याद थप्न आग्रह गरिरहेका छन् । यसले पनि ओलीको पार्टीका बैठकहरूमा टार्नु वा छाड्नुपर्ने बाध्यता छ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार १५:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।