Logo

कर्णाली प्रदेश

गण्डकी प्रदेश सरकारद्वारा प्रदेश प्रहरीलाई सवारी साधन हस्तान्तरण



गण्डकी प्रदेश सरकारद्वारा गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुका लागि उपलब्ध गराईएका सवारी साधनहरुलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महनिरीक्षक घनश्याम अर्याललाई आज एक समारोहका बिच चाबि हस्तान्तरण गरेका छन् ।

प्रदेश अन्तर्गतका प्रहरी कार्यालयहरुलाई सवारी साधन तथा अन्य भौतिक स्रोत साधनहरुमा आत्मनिर्भर बनाई चुष्तदुरुष्त एवं प्रभावकारी प्रहरी सेवा प्रवाहमा सहजता प्रदान हुनुका साथै आम नागरिकमा शान्ति सुरक्षा तथा अमनचयनको प्रत्याभूति गराउन गण्डकी प्रदेश सरकारद्धारा प्रदेश प्रहरीलाई टाटा पिकअप भ्यान ४ थान र २८ थान मोटरसाईकल (पल्सर १८, TVS अपाचे ५ र बुलेट ५ थान) हस्तान्तरण गरिएको छ । चाबि हस्तान्तरण पश्चात माननीय मुख्यमन्त्री गुरुङले हस्तान्तरण गरिएका सवारी साधनहरुको अवलोकन समेत गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले शान्ति सुरक्षा लगायत अपराध अनुसन्धान तथा नियन्त्रणको क्षेत्रमा गण्डकी प्रदेश प्रहरी कार्यालय र मातहतका प्रहरी कार्यालयहरुबाट उल्लेखनीय कार्य भईरहेको बताउँदै हस्तान्तरण गरिएका सवारी साधनहरुले प्रहरी काम कारवाहीमा चुष्तता प्रदान गर्ने र प्रहरी कर्मचारीहरुको मनोबल समेत बृद्धि हुनेमा विश्वास व्यक्त गरे ।

साथै कुनै पनि सरकार सफल हुनका लागि उसका संयन्त्रहरु स्रोत साधन युक्त एवं दक्षतापूर्ण हुनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै देशका कुना कन्दराहरुमा समेत अग्र पंक्तिमा रहि सरकारको प्रतिनिधित्व गर्ने प्रहरी संगठनको सामरिक विकास आफ्नो प्राथमिकतामा रहेको बताउँदै आगामी दिनमा समेत आवश्यक सहयोग गर्न प्रदेश सरकार तत्पर रहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरि बहादुर चुमानले प्रहरीको काम कारबाहीलाई थप प्रभावकारी, जनमुखी र समयसापेक्ष बनाउन स्रोतसाधनको अपरिहार्यता उल्लेख गर्नुहुँदै प्रदेश सरकार आफ्नो स्थापनाकाल देखि नै प्रहरी इकाईहरुलाई स्तरबृद्धि गरी साधन स्रोतले मजबुद बनाउन दृढ रहेको बताए ।

कार्यक्रममा धन्यवाद मन्तव्य राख्नुहुँदै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री माननीय पृथ्वी सुब्बा गुरुङ लगायत गण्डकी प्रदेश सरकार प्रति नै आभार व्यक्त गर्दै हस्तान्तरीत सवारी साधनहरुले गण्डकी प्रदेशको शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धान गर्ने जस्तो संवेदनशिल जिम्मेवारी वहन गर्दै पारदर्शीता, जवाफदेहिता र व्यावसायिक निष्ठापूर्वक कार्य सम्पादन गर्ने जस्ता प्रहरी कार्यमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

साथै संगठनका तमाम समस्या र चुनौतीहरुलाई परास्त गर्न जिम्मेवारीको बोध, व्यावसायिक सामर्थ्य र जवाफ देहिताको कानूनी र नैतिक साहस आवश्यक भएको बताउँदै उपलब्ध जनशक्ति तथा साधन श्रोतको उचित एवं प्रभावकारी ढँगबाट अधिकतम परिचालन गर्दै उच्च व्यवसायीक नैतिकता तथा पारदर्शी रुपमा समयानुकुल सेवा प्रदान गर्न हरपल क्रियाशिल रहेको बताए ।

कार्यक्रममा स्वागत मन्त्वय राख्दै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक किरण राणाले सुशासन र शान्ति सुरक्षाको पूर्ण अनुभुति गर्ने नागरिकहरुका चाहना पुरा गराउने कार्यमा प्रदेश सरकारबाट हस्तान्तरण गरिएका उक्त सवारी साधनहरुले सम्पूर्ण प्रहरी कर्मचारीहरुको मनोवल विकास र नागरिक मैत्री प्रहरी सेवा सहितको गुणस्तरिय प्रहरी सेवा प्रदान गर्नमा टेवा पुर्याीउने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रमुख सचिव विष्णु प्रसाद नेपाल, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी, संघीय प्रहरी इकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नर बहादुर के.सी. लगायत पोखरा स्थित विभिन्न प्रहरी कार्यालयका प्रमुख तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आईतवार १४:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।