Logo

विविध

युवती बलात्कार गर्ने दुई जना कारागार चलान



दुई युवतीलाई जर्बजस्ती करणी गरेको अभियोगमा चितवनमा पक्राउ परेका दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत चितवनले अर्घाखाँचीका २६ वर्षीय मनोज केसी र भरतपुर–४ का विजय श्रेष्ठ भनिने विजय मानन्धरलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । गत साउन ४ गते माडी नगरपालिका–९ बगइस्थित जङ्गलमा १७ वर्षीया युवतीलाई २६ वर्षीया केसीले जबर्जस्ती करणी गरेको अभियोगमा चितवन प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

साउन २८ गते जिल्ला अदालत चितवनको आदेशले पुर्पक्षका लागि केसीलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । पीडित युवती ठूलीआमाको घरमा बस्दै आइरहेकी थिइन् । बेलुका एक्लै बजारतर्फ तरकारी किन्न गइरहेको बेलामा केसीले जबर्जस्ती जङ्गलमा लगेर बलात्कार गरेको पीडित युवतीले बयान दिएकी थिइन् ।

यस्तै जबर्जस्ती करणीको अभियोगमा भरतपुर–४ का विजय श्रेष्ठ भनिने विजय मानन्धरलाई पनि कारागार चलान गरिएको छ । जिल्ला अदालत चितवनले साउन ३२ गते श्रेष्ठलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएपछि उनलाई कारागार पठाइएको प्रवक्ता थापाले जानकारी दिए ।

अभियुक्त श्रेष्ठले १६ वर्षीया युवतीलाई प्रेम गर्छु, विवाह गर्छु भनेर ललाइफकाई गत असार ७ गते राति सविन भन्ने चन्द्रलाल मानन्धरको सहयोगमा उनकै कारमा लगेर भरतपुर–१७ स्थित सविन ग्रिल उद्योगमा असार ८ गते रातिसम्म पटकपटक बलात्कार गरेको पीडित युवतीले बयान दिएकी थिइन् । सोही आधारमा पक्राउ गरी अनुसन्धान पूरा गरेर चितवन प्रहरीले जिल्ला अदालत चितवनमा पेश गरेको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार २०:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।