Logo

टिप्पणी

‘तिब्बतका विषयमा दुईपटक जवाहरलालजीसंग झगडा गरें’ 



अब बफर स्टेट त पाकिस्तान भएको छ । ब्रिटिशको समयमा त पाकिस्तान र भारत एउटै भएको हुनाले अफगानिस्तान बफर स्टेट भएको थियो र तिब्बत पनि त्यस्तै भएको थियो । अंग्रेजहरुले चीनको डरले तिब्बतलाई लिएको होइन र, रुसको डरले पनि होइन । रुसले १९ औं शताब्दीमा मध्ये एसियामा जुन विस्तार गर्यो आफ्नो साम्राज्यको, त्यसको डरले अंग्रेजहरुले त्यो गरेका थिए । 

अब हिन्दुस्तानको समस्या के छ भने अन्तर्राष्ट्रिय राजनीतिमा ऊ रुसको पक्ष लिन्छ । यथार्थमा अब त रुसको सामरिक विस्तारको मार्गलाई बफर स्टेट त पाकिस्तान भएको छ । पाकिस्तानलाई बलियो र स्वतन्त्र नबनाउने हो र पाकिस्तान रुसी विस्तार अभियानमा ढल्छ भने दिल्ली कति दिनसम्म स्वतन्त्र रहन सक्छ ? त्यो त उनीहरुले बुझ्नुपर्छ । बुझ्दैनन भने उनीहरु स्वतन्त्र रहनसक्ने अधिकार रहँदैन र, त्यो नबुझ्नु हिन्दुस्तानका प्रति उनीहरुको गद्दारी हुनेछ ।

अब नेपालको पनि त्यही समस्या छ । पहिला उनीहरुले तिब्बतमा चिनियाँ प्रभुत्वलाई स्वीकार गरे । मैले त त्यस विषयमा दुईपटक जवाहरलालजीसंग झगडा गरेको छु । जब तिब्बतमा उनीहरु आइसकेका थिए, सोसलिस्टहरु त्यसलाई तिब्बतको कब्जा भन्थे । म त सोसलिस्ट विचारधाराको थिएँ । लोहियाले चिनियाँहरुको त्यस कारवाहीलाई ‘शिशुहत्या’ भनेको थियो । मलाई पनि लाग्थ्यो कि जस्तोसुकै ऐतिहासिक दर्जा भएतापनि एउटा नयाँ उथलपुथलमा त्यसको स्वतन्त्र दर्जा कायम रहनुपर्छ र कुनै विदेशी शक्तिले आएर कब्जा गर्नु हुँदैन ।

त्यही कुरालाई लिएर जवाहरलालजीसंग मेरो बहस पथ्र्यो । जवाहरलालजीले मलाई के भने भने, – ‘तो क्या हम पल्टन भेज करके दलाई लामाको उसकी गद्दी पर रखें ?’ मैले भने– ‘वो तो मै नही कहता । लेकिन आपने इनके आधिपत्यको प्रतिष्ठा प्रदान कर दी । जब आपने कहा कि वो तो चीनका ही हिस्सा है, आपने तिब्बतको चाँदीके तस्तरीमे डाल कर दे दिया पिकिङको । आपको त स्टैण्ड लेना चाहिए था कि हम उसे स्वीकार नही करते । आपको सेना भेजनेकी कोई जरुरत नहीं ।

आप संयुक्त राष्ट्र संघमे जगह जगह के बारेमे अपनी राय देते रहते है, हरजगह तो आप सेना नही भेजते है । आप नैतिक स्टैण्ड लेते है और जगह । लेकिन तिब्बत के बारे मे तो आपने नैतिक स्ट्याण्ड नहीं लिया ।’

अर्को एकपटक प्रश्न उठेको थियो टंकप्रसादको पालामा । हामीहरुको तिब्बतसंग एउटा अपरदेशीय सन्धि थियो । दलाई लामाले २० हजार रुपैयाँ हरेक वर्ष हामीहरुलाई दिन्थे । घोडा, बक्खु इत्यादि अरु के के दिन्थे । यो एक प्रकारको अर्धराज्य (सृुजरेन्टी) को चिन्नोको रुप मात्र थियो, त्यस देशमा नेपालको सम्प्रभुताको चिन्ह । कानूनी स्थिति के थियो भने तिब्बतमा कसुर गरेपनि कुनै नेपालीमाथि त्यहाँको कानून अन्तर्गत तिब्बतको अदालतमा मुद्दा चल्न सक्दैनथ्यो । यो दुईवटा अधिकार नेपालको थियो तिब्बतमा ।

टंकप्रसादको पालामा त्यो कुरा उठ्यो यसलाई हटाउने भनेर । मलाई टंकप्रसादले सोधे, यसमा तपाईंको के राय छ भनेर । मैले भने, ‘यसमा तपाईं अहिले नै किन क्यै कुरा गर्नुहुन्छ रु पछि हामीहरुको चीनसंग सीमानाबाट क्यै कुरा हुँदा हामीले छोड्ने कुरा यै न हो । हामीहरुको तर्फबाट ‘हामी यो छोड्छौं, तिमीहरु यसमा यसो गर’ भन्न सक्नुहुन्छ । अहिले नै किन एकतर्फी छोड्नुहुन्छ आफ्नो दावा ।’

टंकप्रसादले भने ‘राम्रो त होइन, तर एकतर्फी रुपमा किन गर्ने ? आउन् त उनीहरु समस्याहरुमा छलफल गर्न । म त एउटा बारगेनको लागि यो राख्न भन्दछु ।’ अनि उनले हिन्दुस्तानबाट पनि त्यस विषयमा दबाब छ, छोडिदेऊ भने । अनि मैले जवाहरलालजीसंग कुरा गरें । जवाहरलालजीले भने- ‘तपाईंहरुले एकतर्फी तवरबाट छोडिदिनुभयो भने त्यो एउटा उपहार जस्तो होला चीनलाई ।

अन्ततोगत्वा, कुनै पनि वार्तामा एउटा ठूलो शक्तिसंग तपाईंहरु त लड्न सक्नुहुन्छ । तपाईंहरुको त सद्भावना मात्र बल हो । सद्भावना भनेको मोलतोलको कुरा होइन । तपाईंहरुले एकतर्फी निर्णयद्वारा अपरदेशीय अधिकार त्याग्नुभयो भने त्यो एउटा सद्रभावना प्रदर्शित हुनेछ र यस्तो एकतर्फी सद्भावनाले पछि तपाईंहरु लाभान्वित नै हुनुहुनेछ । 

त्यसबेला उनीहरुको ‘हिन्दी चिनी भाइ भाइ’ वाला स्थिति थियो ।  मैले के भन्न खोजेको हो भने हिन्दुस्तानले नै सुरक्षाको समस्या सिर्जना गरेको हो । यो सम्पूर्ण क्षेत्रमा ब्रिटिशले जुन बाह्य सुरक्षा क्षेत्रहरु कायम गरेको थियो, त्यसलाई नष्ट गरिएको छ । अब पाकिस्तानको अस्तित्वको संकट हिन्दुस्तानको निम्ति समस्या छैन भने वा त्यसमा उसको पनि सुरक्षा संलग्न छ भन्ने कुरा हिन्दुस्तानले मान्दैन भने हिन्दुस्तानको सुरक्षा पनि कायम रहन सक्दैन । यो मेरो आफ्नो धारणा छ ।

त्यसो हुनाले पाकिस्तान बफर जस्तो बलियो भएर रहनु हिन्दुस्तानको हितमा छ । अब त बफर पाकिस्तान भएको छ, बफर त हामीहरु भएका छौं । हिन्दुस्तानको सुरक्षाको हितमा पनि हामी स्वतन्त्र र बलियो हुनु आवश्यक छ,खालि हामीलाई कमजोर बनाएर, थिचेर हिन्दुस्तानको सुरक्षा हुँदैन । पाकिस्तानलाई कमजोर बनाएर र पाकिस्तानमा अरुले नियन्त्रण गर्न सक्ने कमजोरी बढाएर हिन्दुस्तानको सुरक्षा हुन सक्दैन ।

त्यो कुरा उनीहरु बुझिरहेका छैनन् । पाकिस्तानलाई गाली नगरिकन इन्दिरा गान्धीले मुख उघार्दिनन् । एकापट्टि वार्ता भइरहेको जस्तो लाग्छ, तर कुनै पनि बेला कुनै पनि ठाउँमा उनी बोलिन भने पाकिस्तानलाई गाली गरिरहेकी हुन्छिन् । म त्यो बुझि नै रहेको छैन । या उनले कुनै ड्रामा गर्न थालेकी छन् । शायद उनको मनसाय कुन अर्कै हो कि ! प्रजातन्त्रमा आफूले विश्वास नगरेको कुरा भन्नु हुँदैन ।

जनतालाई गल्ती जानकारी दिनु हुँदैन । उनको इरादा अर्कै हो, यो कुटनीतिक उद्देश्यका लागि हो, अमेरिकालाई आफ्नो पक्षमा ल्याउनका निम्ति हो भने अर्को तरिकाबाट बोल्नुपर्छ । यता जनमत सिर्जना गर्दैछिन पाकिस्तानको विरुद्धमा । दिल्लीमा भन्दछन,– ‘उनी जति जति असुरक्षित महसूस गर्दछिन, बाहिरको हौवा देखाउँछिन् ।

त्यसको लागि त उनी युद्ध पनि सुरु गर्न सक्दछिन् । यो मलाई दिल्लीमा भनेका छन्  युद्धमा हामफाल्ने वित्तिक्कै त फेरि उनलाई ‘दुर्गा र भवानी’ भनेर प्रशंसाको पुल बाँध्ने काम विरोधी पार्टीहरुले गर्न थाल्ने छन् । त्यस्तो हो भने के यो हिन्दुस्तानको हितको कुरा गरिरहेकी छन् ? उनी केवल आफ्नो हितको कुरा मात्र गर्छिन त्यसो हो भने । यो कुनै राष्ट्रवादी दृष्टिकोण होइन । मलाई लाग्दैन उनी त्यति मुर्ख छिन वा छोटो विचारकी छिन् ।

म साँच्ची भनुँ भने हिन्दुस्तानलाई बुझिरहेको छैन । हिन्दुस्तानको शासनमा रहेको वर्गलाई बुझिरहेको छैन् । अहिले त उनीहरुले बुझ्नुपर्ने कि पाकिस्तानको लागि अफगानिस्तानको घटना साँच्चै नै चिन्ताको विषय छ । एउटा कस्तो वाहियात कुरा इन्दिरा गान्धीले बोलेकी छन् भने रुसीहरु अफगानिस्तानमा कायम रहन इच्छुक छैनन् , उनीहरु अफगानिस्तानमा रहुन भन्ने अरुहरु चाहन्छन् ।

रुस चाहँदेन रे । अरु भनेको को ? रुस ? पाकिस्तान ? अर्थात अमेरिकन र पाकिस्तानहरुलाई  अनुकूल पार्नका लागि रुसी फौज त्यहाँ आएको छ । हिन्दुस्तानलाई असुरक्षाको भावना नै हुनु नपर्ने । इन्दिरा गान्धी यत्रो प्रवल बहुमतमा छिन र इन्दिरा गान्धीको प्रवल लोकप्रियताको मुकाविला त्यहाँका दशवटा राजनैतिक दल एक भएपनि गर्न सक्दैनन । के को डर छ उनलाई ?

मानौं अहिले पाकिस्तान र हिन्दुस्तानको बीचमा लडाईं भयो रे । दुईवटा अवस्था सिर्जना हुन्छ । एउटा हुन्छ पाकिस्तानलाई ध्वस्त गर्ने र त्यहाँ एउटा कठपुतली सरकार खडा गर्ने । त्यसो गर्दा रुस र हिन्दुस्तानको फौज आमना सामना खडा हुन्छन् । त्यस्तो स्थितिले हिन्दुस्तानलाई कसरी फाइदा गर्ला ? त्यसले त हिन्दुस्तानका दायित्वहरुलाई बढाइदिन्छ । दोस्रो स्थिति हुनसक्छ, हिन्दुस्तान हार्ने । कथम् कदाचित् हिन्दुस्तान आफ्नो प्रयत्नमा हार्यो भने ? अथवा हिन्दुस्तानले हारेन तर संयुक्त राष्ट्रसंघको हस्तक्षेपबाट युद्ध बन्द भयो वा यस्तै किसिमको कुनै कारवाहीबाट स्थिति जस्ताको तस्तै रह्यो भने ? हिन्दुस्तानलाई के लाभ हुन्छ ? म बुझिरहेको छैन् । 

(विश्वेश्वरप्रसाद कोइरालाको राजा, राष्ट्रियता र राजनीति पुस्तकबाट साभार ।) 

प्रकाशित मिति : चैत्र ७, २०७९ मंगलबार  ९ : १० बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।