Logo

प्रमुख समाचार

लुम्बिनी प्रदेशमा एमालेले सदन चल्न नदिने



प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले लुम्बिनी प्रदेशमा सदन चल्न नदिने भएको छ । सुर्य चिन्ह लिएर चुनाव जितेका दुई जना सांसदलाई निष्कासन गर्न दिएको निवेदन सभामुख पूर्ण बहादुर घर्तीले अस्वीकार गरेको भन्दै एमालेले सदन अवरुद्ध गर्ने भएको हो ।

एमालेको प्रदेश संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा सभामुख र प्रदेश सरकार लोकतान्त्रिक विधि, पद्धति र संवैधानिक प्रावधानलाई कुल्चेर अघि बढेको आरोप लगाइएको छ ।

दलका नेता शंकर पोखरेलको नेतृत्वमा संविधानको धारा ६८ को उपधारा १ अनुसार गठन भएको सरकारका विरुद्ध दुई वर्षभित्र अविश्वास प्रस्ताव ल्याउन नपाइने संवैधानिक प्रावधान रहे पनि संवैधानिक प्रावधानलाई कुल्चिँदै सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता, प्रदेश प्रमुखलाई विशेष अधिवेशनको लागि समावेदन र संवैधानिक प्रावधान विपरीत प्रदेश प्रमुखबाट विशेष अधिवेशनको आव्हान गरिएको समेत विज्ञप्तिमा जनाइएको छ ।

प्रदेशसभा बैठक बहिष्कार गरिरहेको प्रमुख प्रतिपक्ष दलसँग सल्लाह नगरी प्रदेशसभा बैठक चलाउनुले सभामुखको पदीय गरिमा र मर्यादा नांगिएको एमालेको आरोप छ । सरकार गठन प्रक्रियादेखि नै यो सरकार अवैधानिक, असंसदीय र लोकतन्त्र विरोधी रहेको एमालेको आरोप छ ।

‘विश्वासको मत लिनुभन्दा २४ घण्टा पहिले सबै प्रदेशसभा सदस्यलाई जानकारी गराउनुपर्नेमा सदस्यहरुलाई थाहा नै नदिई नियमावली उल्लंघन गरी, प्रमुख प्रतिपक्षको मागलाई बेवास्ता गर्दै एक्लै दौडेर पहिलो हुने सोचअनुसार भएका क्रियाकलाप हाम्रो दललाई कदापि स्वीकार्य हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ, ‘नेकपा एमाले प्रदेशसभामा जिम्मेवार र जवाफदेही प्रतिपक्षको भूमिकामा प्रस्तुत हुन्छ । संसदीय विधि र पद्धतिलाई कुल्चेर भएका क्रियाकलापको सधैं प्रतिपाद गर्दै विधि र पद्धतिलाई स्थापित गर्न सधैं जिम्मेवार ढंगले अघि बढ्छ ।’

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलवार १५:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।