दोस्रो संविधानसभाको निर्वाचनमा सबैभन्दा ठूलो दलका रुपमा रहेको र अहिलेको संविधान निर्माण तथा त्यसपछिका तीनै तहका निर्वाचन सम्पन्न गराउन सफल नेपाली कांग्रेस त्यसपछि भने यति खुम्चियो, संसदमा उसले आफू एक्लै केही गर्ने नसक्ने अवस्थामा आयो । जस्तो, २५ प्रतिशतले हुन सक्ने काम पनि गर्न नसक्ने भयो ।
यो चुनावमा कम्युनिष्ट गठवन्धनले घोषणा गरे अनुसार वास्तवमा नै अब नेपाली कांग्रेस पचास वर्ष सम्मका लागि सत्तामा फिर्तीको कल्पना पनि गर्न सक्ने ठाउँमा पुगेकै हो त ? यसका सभापति शेरबहादुर देउवा अव कहिलै प्रधानमन्त्री हुन नपाउने हुन त ? यस्ता प्रश्नहरु थिए केही अघिसम्म । तर कम्युनिष्टका नेताको यस्तो घोषणा कांग्रेसका हकमा तीन वर्षपनि टिकेन । यतिबेला कम्युनिष्ट नेताहरु कांग्रेसले सत्ता चलाइ देओस र शेरबहादुर देउवा प्रधानमन्त्री बनिदिउन भनी दिनैपिच्छे अनुनय विनय गरिहेका छन पछिल्ला केही समयदेखि ।
यसले राजनीति भनेको के रहेछ भन्ने उदाहरण पनि प्रस्तुत गरेको हुनुपर्छ । नेपाली कांग्रेससंग संसदमा २५ प्रतिशतको पनि संख्या छैन तर दुईतिहाइको संख्याका धनी कम्युनिष्ट नेताहरु यतिबेला दुईसय पचहत्तरको संसदको नेता बनिदिन यसका सभापति देउवासंग भइरहेको यो अनुरोध लर्तरो होइन ।
यो बोली कस्तो ?
‘देउवा कांग्रेसका अन्तिम प्रधानमन्त्री हुन् । मंसिर १० र २१ गते बूढो रूख ढल्छ । वामपन्थीको आँधी तुफानले रूख भित्रभित्रै खोक्रो भइसकेको छ । कांग्रेस सत्तामा फर्किन कम्तीमा ५० वर्ष लाग्ने छ, यो कुरा म लेखेर दिन्छु ।’
तत्कालीन एमाले अध्यक्ष तथा कम्युनिष्ट गठबन्धनका पनि संयोजक केपी शर्मा ओलीले कांग्रेसलाई कटाक्ष गर्दै यसो भन्नु भएको थियो । त्यो सभा थियो गोरखाको पालुङटार, कार्तिक अन्तिम हप्ता । सत्तामा कहिल्यै नआउने भनी व्यक्तिको नामै तोकिएको र उनले नेतृत्व गरेको दल त पाँच दशकसम्म सत्तामा आउँदैन भनिएको यति छोटो समयमा त्यसो भन्ने व्यक्ति अर्थात नेता नै ती व्यक्तिलाई प्रधानमन्त्री बनाउन र त्यो दललाई सत्तामा ल्याउन कम्मर कसेर लागेको देखियो । पछिल्ला राजनीतिक भेटघाट र सत्तामा संख्याको जोडघटाउ यसका उदाहरण आफैं बने । यो काम विपक्षी दल कांग्रेसको रणनीतिबाट भएको होइन । गएको निर्वाचनमा यो दल नेकपाले जस्तो मत पाएको थियो, त्यसलाई नेतृत्वले प्रयोग गर्न नसक्दा वा नजान्दा यो स्थिति आएको हो ।
कुरो तीन वर्षअघिको मात्र हो । वाम गठबन्धनको चुनावी सभामा ओलीका यी बोली ‘देउवा कांग्रेसका अन्तिम प्रधानमन्त्री’ तथा ‘कांग्रेस सत्तामा फर्किन कम्तीमा ५० वर्ष लाग्ने’ भन्ने कुरा त्यो घोषणाको तीन वर्ष तीन महिनामै गलत सावित भयो । यो दलका दुवै अध्यक्ष सत्ताको किस्ती बोकेर देउवा निवास धाएका धाएकै अवस्थामा देखिनु भएको छ र पछिल्ला दिन यो क्रम झनै बढी रहेको पाइन्छ । तर यता कांग्रेस चाहीँ सत्ता चाहिएन भनिरहेको छ ।
नेकपाका अध्यक्ष ओलीले देउवालाई कहिल्यै सत्तामा नआउने भनी घोषणा गर्दाको त्यस बेलाको समयमा कांग्रेस सभापति देउवाको नेतृत्वमा चुनावी सरकार थियो । अर्थात कांग्रेसकै सत्ता हुँदा त्यसले सत्तामा फर्किन कम्तिमा ५० वर्ष लाग्ने भनिएको हो ।
कांग्रेसकै नेतृत्वमा सम्पन्न चुनावमा परिणाम भने बताइए जसरी नै कांग्रेसको विपक्षमा आयो । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको परिणाम एमालेका अध्यक्ष ओलीबाट दाबी गरेजस्तै आयो । वाम गठबन्धनले झन्डै दुई तिहाई सीट जित्यो । ओली प्रधानमन्त्री बन्नुभयो । केन्द्रदेखि प्रदेश पनि पूर्णरुपले नेकपाकै पोल्टामा गयो । निर्वाचन परिणामको यो दृश्यले कांग्रेसले सत्तामा फर्किन केही समय पर्खिनुपर्ने जस्तै देखायो । केन्द्रमा मात्रै होइन, सातमध्ये ६ वटा प्रदेशमा पनि नेकपाकै दुई तिहाईको हाराहारीमा संख्या आयो ।
तर नेकपाले शासन गरेको तीन वर्ष पुग्दा नपुग्दै नेपाली कांग्रेस केन्द्रमा मात्र होइन, सबै प्रदेशमा पनि उसकै सत्ता बन्ने अवस्था आयो । नेकपाको पूर्ण अथवा दुई तिहाईको संख्या रहेका प्रदेश १ र ३ मा त मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव आएर कांग्रेलाई नै सत्ता दिने भनेर करिव करिव तय भइसकेको अवस्था छ । यो बीचमा अन्यथा भएन भने परिणाम देखिए पनि सकिएको छ । कांग्रेसले समर्थन गरेन भने त्यो अविश्वास काम लाग्दैन र समर्थन गरेमा सत्ता उसकै हातमा जाने सम्भावना बढी देखिइरहिएको छ ।
व्यावहारिुक रुपमा फुटेका नेकपाका दुवै पक्षले कांग्रेसलाई सत्ता साझेदारीको प्रस्ताव गरिरहँदा यता कांग्रेस भने तत्काल कसैतिर नखुल्ने नीतिमा देखिएको छ पछिल्लो केन्द्रीय समिति बैठकबाट नै । प्रधानमन्त्रीका लागि प्रस्ताव आए पनि आफूले कसैलाई जवाफ नदिएको भन्ने जानकारी यसका सभापतिबाट नै आएको हो । सभापतिले १३ फागुनमा आफू निकट शीर्ष नेताहरूलाई बोलाएर नेकपाका दुवै समूहका प्रस्ताव आएको भनी औपचारिक रुपमा नै जानकारी गराउनुभएको थियो । ‘मलाई ओली र प्रचण्ड–नेपाल समूहले भेटेर र विभिन्न माध्यमबाट सत्ता सहकार्यका लागि प्रस्ताव पठाएका छन, सिधै भन्नुपर्दा तपाईं नै प्रधानमन्त्री बन्नुहुन्छ । मिलेर जाऔं भनेर दुबै समूहले भनेका छन् । तर, मैले कसैलाई जवाफ दिएको छैन ।’
यसदिनको अर्थात यो समयको पछिल्लो निष्कर्षमा नेकपा विभाजन नभई कांग्रेसले अहिले नै यो÷त्यो समूहलाई सहयोग गर्छु भन्नु हुँदैन भन्ने नै रहेको देखियो । त्यसकारण यो दलले तत्काल तटस्थ रहने निर्णय गरको बुझन सकिन्छ । यो बैठकले संसदमा नेकपाका दुबै समूह कसरी अगाडि बढ्छन्, त्यहीअनुसार निर्णय लिने भन्ने निर्णय गरेको थियो ।
कांग्रेसको दुवैपक्ष यो निष्कर्षमा सहमत भएको अवस्था छ वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाई पनि संसदीय प्रक्रिया सुरु भएपछि नेकपाको कदम हेरेर कांग्रेसले आवश्यक निर्णय लिने भन्ने नै रह्यो । उहाँका अनुसार ‘अहिले कांग्रेसको भूमिका केही छैन । पहिले प्रक्रिया अगाडि बढोस्, उहाँहरू (नेकपा) कसरी आउनुहुन्छ, त्यहीअनुसार हाम्रो पार्टीले सल्लाह गरेर काम गर्छौं ।




















प्रतिक्रिया