Logo

कर्णाली प्रदेश

कर्णालीमा एमाले त्याग्ने धेरै, कुन जिल्लामा कतिले त्यागे ?



निर्वाचन आयोगले विभाजित दल रोज्नको लागि दिएको भदौ २२ गतेसम्मको समयसीमाभित्र नेकपा (एमाले) नेकपा (एकिकृत समाजवादी) जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीमा लाग्नेहरुको कित्ताकाट टुंगिएको छ । यस्तैमा कर्णालीमा नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दल रोज्ने जनप्रतिनिधिहरुको संख्या पनि टुंगिएको छ । ।

कर्णालीमा २०७४ सालको स्थानीय निर्वाचनमा ७९ वटा स्थानीय तहमध्ये २९ वटा स्थानीय तह जितेकोमा लगभग ६० प्रतिशत स्थानीय तहका जनप्रतिनिधि एमाले छोडेर एकिकृत समाजवादी रोजेका छन् । नेताहरुकाअनुसार नेकपा एमाले छाडेर एकीकृत समाजवादी दल रोज्नेहरूको संख्या २८९ जना पुगेको छ ।

हेरौं कुन जिल्लामा कति ?

सुर्खेत

जिल्ला निर्वाचन कार्यालय सुर्खेतका अनुसार यो जिल्लामा १५ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

निर्वाचन अधिकृत निर्मला रेग्मीले अहिलेसम्म पालिकाका प्रमुखरअध्यक्ष, उपप्रमुखरउपाध्यक्ष कसैले पनि सनाखत नगरेको बताइन् । तर उनले वडाअध्यक्ष र वडा सदस्यहरु भने एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

सल्यान

सल्यान निर्वाचन कार्यालयका निमित्त सुचना अधिकारी तेजेन्द्र कुमार चन्दले रातोपाटीलाई दिएको जानकारीअनुसार १र१ जना अध्यक्ष, उपाध्यक्ष, १७ जना वडा अध्यक्ष र ५३ जना सदस्यहरु लगायत ७५ जनाले अहिलेसम्म एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् ।

कालिकोट

जिल्ला निर्वाचन कार्यालय कालिकोटका निमित्त जिल्ला निर्वाचन अधिकृत धनबहादुर मल्लका अनुसार ६५ जना जनप्रतिनिधिहरुले एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

जुम्ला

जुम्ला निर्वाचन कार्यालयका प्रमुख महेश शर्माका अनुसार मंगलबार दिउँसोसम्म एकीकृत समाजवादीमा सनाखत गर्ने जनप्रतिनिधिको संख्या ४१ जना पुगेको छ ।

हुम्ला

हुम्ला निर्वाचन कार्यालयका अनुसार यो जिल्लाका ४ जना वडा सदस्य र १ जना जिल्ला समन्वय समिति सदस्य गरी ५ जनाले एकीकृत समाजवादी रोजेका छन् ।

दैलेख

जिल्ला निर्वाचन कार्यालय दैलेखका अनुसार ११ स्थानीय तह रहेको दैलेखमा ६३ जना जनप्रतिनिधिले समाजवादीमा सनाखत गरेका छन् ।

भदौ १८ गते २७ जनाले सनाखत गरेका थिए भने २० गते ३३ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका थिए ।

मंगलबार अपरान्ह सम्म ६३ जनाले समाजवादीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय दैलेखले रातोपाटीलाई जानकारी दियो ।

मुगु

मुगु जिल्ला निर्वाचन कार्यालय प्रमुख धनबहादुर बडुवालले दिएको जानकारी अनुसार यो जिल्लामा २५ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । जसमा एक जना उपाध्यक्ष, पाँच जना वडाअध्यक्ष, १९ जना सदस्य रहेका छन् ।

प्रकाशित : २३ भाद्र २०७८, बुधबार