Logo

धर्म / संस्कृति

तीजको प्रारम्भ र व्रतको महिमा



तीज एउटा हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल तृतीयादेखि पञ्चमी ४ दिन मनाउने गरिन्छ् । हरितालिका तीजमा विशेष गरेर भगवान शिवजीका पुजा आराधना गर्ने गरिन्छ । यो चाडमा महिला दिदीबहिनीहरुले नाचगान र मनोरञ्जन समेत गर्ने गर्छन् ।

नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र रूपमा मनाइने तीज आजभोलि अन्य धर्म र जातिका नेपाली महिलाहरूले पनि हर्षकासाथ मनाउन थालेका छन् । यो पर्व विशेष गरि नेपालभर मनाइन्छ । आधी शक्ति भगवान शिवजीकी पत्नी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्यलाभ तथा शरीरमा कुनै वाधा अड्चन नहोस् भनेर प्रथम बर्त राखेकी थिइन् । जुन दिन यही हरितालिका तीज थियो भन्ने किम्बदन्ती रहेको छ ।

पुराण कथानुसार पार्वतीले शिवजीलाई धेरै मन पराउथिन् । पार्वतीका बुवालाई शिव फिटिकै राम्रो नलाग्ने भएकाले पार्वतीको विवाह विष्णु संग गरिदिने निर्णय गरेका थिए । पार्वतीको मनमा त्यो कुराले औधी चोट पुर्‍याएको थियो ।

अन्तत: उनले बुवाको निर्णय विरुद्ध गएर पार्वती आफ्ना साथिहरुसँग लुकेर बसिन् । उनका साथिहरुले पार्वतीलाई शिवसित भेट गराएर उनीहरुको विवाह भएको हरितालिका तीजको व्रत कथामा उल्लेख छ ।

दिनभरी अन्न जल केहि नखाएर निराहर व्रत बसेपछि शिवजी प्रसन्न भई पार्वतीलाई वरदान दिएको पाउन सकिन्छ। पार्वतीले आफ्नो ईच्छा अनुसारको व्यक्ति शिवजीसँग बिवाह भएको कारण यस दिनलाई प्रेमको विजयोत्सवको रुपमा पनि मनाएको पाउन सकिन्छ । त्यस दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउदै आईरहेका छन् ।

दर खाने दिन

परम्परागत रुपमा विवाह भएर पराई घरमा गएकी छोरीचेलीलाई माइतीले (बाबु आमा,दाजुभाइ) ले घरमा गई लिएर आउने वा बोलाएर मीठो मसिनो परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुख साटेर एकै ठाउँमा खाने–बस्ने रिती रहेको छ ।

माइतीले आफ्नी चेलीलाई ल्याएर दर खुवाउने गर्दछन् । यो पर्व भाद्र शुक्ल द्वीतिया तिथीका दिन पर्दछ ।

यही दर खाने दिनबाट नै तीज पर्वको सुभारम्भ हुन्छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन रहेको छ । दरमा आ–आफ्नो प्रचलन अनुसार विभिन्न मिठा–मिठा परिकार साथै खीर, पुरी, सेलरोटी, केरा, दही लगायतका फलफूल तथा खाना खाने गरिन्छ र भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई ब्रत बस्ने प्रचलन रहेको छ ।

मनाउने तरिका

नारीहरुले तीजको दिनका अतिरिक्त गणेश चतुर्थी र ऋषिपञ्चमीलाई पनि तीज पर्व कै रुपमा मनाउँने गर्छन् । विशेष गरी स्त्रीहरूले आफ्नो श्रीमानको निम्ति निराहार रहेर भगवान शिवजी र आधी शक्ति पार्वतीसँग प्रार्थना गर्दछन् । तिजको दिन महिलाहरू बिहान चाँडै उठेर नुहाई धुवाई गरेर दिनभरि जल, अन्न ग्रहण नगरी बर्त बस्छन् ।

साँझपख घर, गाउँ र छिमेकका सबै महिलादिदीबहिनीहरू एउटै स्थानमा जमघट गरी पूजाका सरसामान तथा मण्डपको तयार गरी भगवान शिवजीको आराधना गर्ने चलन छ ।

निर्जला बर्त भनिए पनि आजभोलि महिलाहरू मध्यान्हमै पूजा, आराधनापछि फलफूल ग्रहण गर्ने गर्दछन् । कतिपय महिलाहरू नजिक रहेको शिवमन्दिरमा गई शिव आराधनाका साथै नाचगान तथा रमाइलो गर्ने गर्दछन् । विभिन्न ठाउँमा रहेका मठमन्दिर परिसरमा ब्रतालु महिलाको ठुलो भिडभाड देखिन्छ ।

ब्रर्तको दिन

नेपाली समाजमा तीज महिलाहरूले मनाउने पर्व हो । सामाजिक मुल्यमान्यता अनुसार समाजमा हिन्दु नारीहरुका लागि तीजलाई एकदमै महत्त्वपूर्ण पर्वका रूपमा लिने गरिन्छ ।

तिज एक पौराणिक कालदेखि चल्दै आएको परम्परा हो । समाजको चलन अनुसार महिलाहरू विवाह पछि आफ्नो श्रीमानको साथमा उसको घरमा बाँकी जीवन बिताउनु पर्ने हुन्छ ।

जुन घरमा आफू जन्मिएको हो, घर,आमा ,बुवा, भाइबहिनी, आफन्तजन र समाज सब छोडेर पराईघरमा जीवन बिताउँदा आउने माइतिको सम्झनालाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्त्व रहेको छ ।

तीजमा महिलाहरूलाई मीठो भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झना कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ ।

तीजमा विवाहित महिलाहरू आफ्ना श्रीमानको दीर्घायु तथा सुखशान्ती समृद्दीको कामना गर्दै बर्त बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहितले सुयोग्य वरको ९जिवन साथी० को आशा राखी बर्त बस्छन् । बर्तको समयमा महिलाहरूले तीजको बर्तकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्ममण ब्राह्ममणीहरूलाई दान दक्षिणा दिने गर्दछन् ।

ऋषिपञ्चमी ब्रत

ऋषिपञ्चमी ब्रतमा शास्त्रका अनुसार १२ महिनाको महिनाबारीमा भुलवस कति कुरा छोइएको हुन सक्छ । उक्त पापबाट मूक्त हुन भाद्र शुक्ल पञ्चमीको दिन ३६५ वटा दतिवन टोकेर माटो तथा गाईको गोबर लगाएर ३६५ पटक नुहाउनु पर्छ र यसको पनि थुप्रै विधिहरू प्रचलन छन ।

मूलतः ३६५ वटा दतिवनका डाँठ टोकेर खोलामा सेलाउने, माटो र गोबरले शरीरका सबै अङ्गहरू शुद्ध गर्नु, चाल्नीमा गनिएका तिलचामल र जौ राखेर माथिबाट पानी खन्याई नुहाउने र सप्तऋषीको पूजा गरेपछि महिलाहरू पूर्णरूपमा शुद्ध हुन्छन् भन्ने विश्वास गरिन्छ ।

३६५ वटा दतिवन दिनको एउटा ३६५ दिनसम्म टोकेर तीजमा पञ्चमीको दिन खोलामा बगायो भने पनि रजस्वला हुँदाको समयमा भएको पापबाट मुक्ति भइने पनि विश्वाश छ । ।

नारीहरूले रातो टीका, रातो कपडा, रातो चुरा, पोते आदि सबै रातै रंगमा सजिने तीज पर्वको रंग हो । नारीहरू त्यस दिन नाचगान गर्दै हर्षोउत्साहित भएर दिनभरि भोकै बसी श्रीमानको दिर्घायुको कामना गर्नु नै विशेष यस तीज पर्वको सन्देशका रुपमा मानिन्छ । यो तिजको अन्तिम दिन हो ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार १२:२६   :  बजे

144
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।