Logo

कोशी प्रदेश

प्रदेश नं. १ मा थपिए दुइ मन्त्री र तीन राज्यमन्त्री, सबै मन्त्री २४ दिनका म्यादी !



प्रदेश नं. मा स्पष्ट अल्पमतमा रहेको मुख्यमन्त्री भीमप्रसाद आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री आचार्यले बुधबार दुई मन्त्री र तीन जना राज्यमन्त्री नियुक्त गुरेर प्रदेशको मन्त्रिमण्डललाई ८ सदस्यीय बनाएका हुन् ।

मुख्यमन्त्री आचार्यले तुलसीप्रसाद न्यौपानेलाई आर्थिक मामिला तथा कानूनमन्त्री र हिराकुमार थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनाएका छन् ।

उत्तमकुमार बस्नेत उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री, ज्ञानेश्वर राजवंशी भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री, लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानून राज्यमन्त्री बनाएका छन् ।

मन्त्री न्यौपाने र थापालाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले र राज्यमन्त्रीलाई मुख्यमन्त्री आचार्यले पद तथा गोपनीयताको सपथग्रहण गराएका छन् ।

गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले यसअघि बलबहादुर साम्सुहाङलाई सामाजिक विकास मन्त्री र लछुमन तिवारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनाएका थिए ।

मुख्यमन्त्री बनेको २० दिनपछि आन्तरिक मामिला तथा कानून मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालय आफैंसँग राखेर दुई मन्त्री र तीन राज्यमन्त्री थप गरेका हुन् ।

नेकपा एमाले विभाजनपछि अल्पमतमा परेका मुख्यमन्त्रीको पक्षमा सभामुखसहित ४१ जना सांसद छन् । विपक्षी गठबन्धनमा ५० जना सांसद छन् । ९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।केन्द्रको राजनीतिमा नाटकीय परिवर्तन नभए मुख्यमन्त्री आचार्यले थप गरेका मन्त्री २४ दिनका लागि मात्रै रहनेछन् ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार १८:४४   :  बजे

405
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।