Logo

कोशी प्रदेश

विश्वासको मत लिन मुख्यमन्त्री आचार्यलाई अल्टिमेटम नभए अविश्वासको प्रस्ताव लैजाने



प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलाई विपक्षी गठनबन्धनले विश्वासको मत लिन अल्टिमेटम दिएको छ । असोज ८ गतेसम्म मुख्यमन्त्री आचार्यले विश्वासको मत नलिएको खण्डमा प्रदेशसभामा अविश्वासको प्रस्ताव लैजाने विपक्षी गठबन्धनको तयारी गरेको छ ।

प्रदेश १ प्रदेशसभामा नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र जसपा नेपाल गरी चार दलको गठबन्धन छ । चार दलको बैठकले असोज ८ गतेभित्र मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रकृया सुरु नगरे अविश्वास प्रस्ताव ल्याएर हटाउने सहमति गरेका छन् ।

मुख्यमन्त्री आचार्यले असोज ८ गतेभित्र विश्वासको मत नलिए अविश्वास प्रस्ताव ल्याएर वर्तमान सरकारलाई विस्थापित गर्ने निष्कर्षमा गठबन्धनमा आवद्ध दल पुगेको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले बताए ।

‘प्रदेश सरकारले असोज २३ गते विश्वासको मत लिने तयारी गरिरहेको चर्चापछि विपक्षी गठबन्धनको बैठक बसेको छ,’ आङबोले भने, ‘संविधान विपरीत सरकार चल्न नहुने गठबन्धनभित्रका दलको निष्कर्ष छ ।’

मुख्यमन्त्री आचार्यले असोज ८ गतेभित्रै विश्वासको मत लिने प्रकृयामा सुरु नगरे अविश्वास प्रस्ताव ल्याएर वर्तमान सरकारलाई विस्थापित गर्ने निर्णय भएको उनले बताए ।

गठबन्धनभित्रका दलले निर्वाचन आयोगले नेकपा एमाले विभाजन भएको औपचारिक पत्र भदौ ९ गते प्रदान गरेकोले संघ र प्रदेशमा सोही मितिबाट दल विभाजन भएको गणना हुने दाबी गरेका छन् । राष्ट्रिय पार्टी विभाजनको विषयलाई प्रदेशसभा संसदीय दल विभाजनको अर्थ लगाएर सत्ता लम्ब्याउने प्रयासमा सत्ता पक्ष अघि बढेको भन्दै आङ्बोले त्यस्तो अवस्था आए संविधान प्रतिकुल हुने ठहर गर्दै आफूहरुले अविश्वासको प्रस्ताव अघि बढाउने सहमति गरेको बताए ।

प्रदेशसभामा सत्तारुढ नेकपा एमालेका ४१ सांसद छन् । ९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४७ सांसदको समर्थन आवश्यक हुन्छ ।

विपक्षी गठबन्धनसँग प्रस्ट बहुमत पुग्ने गरी काँग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ सांसद छन् ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार १२:१९   :  बजे

135
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।