Logo

अर्थ

सावधिक जीवन बीमामा सर्वसाधारणको आकर्षण, झण्डै पौने ७ लाख बीमालेख बिक्री



बीमा कम्पनीहरुको बीमा पोलीसी अनुसार जारी गरिने सावधिक जीवन बीमा योजनामा सर्वसाधारणको उल्लेख्य आकर्षण बढेको छ । बीमा अवधि समाप्त भएपछि बीमित स्वयमले नै बीमांक रकम र बोनस प्राप्त गर्ने पोलीसीका कारण सावधिक बीमा योजनामा सर्वसाधारणको व्यापक आकर्षण बढेको हो ।

बीमा समितिको तथ्यांक अनुसार अन्य जीवन बीमा पोलीसी भन्दा सावधिक जीवन बीमा योजनामा सर्वसाधारणले बढी रुची देखाएका छन् । यस योजना अन्तर्गत बीमितको जोखिमको बहनसँगै भुक्तानी गरेको बीमाशुल्कमा बोनस सहित रकम फिर्ता पाउने भएपछि सर्वसाधारणले बढी रुची देखाएको बीमा समितिको निचोड छ ।

सावधिक जीवन बीमा योजना निश्चित अवधिसम्ममा बीमित जीवित रहेको अवस्थामा एकमुस्ट रकम प्राप्त गर्ने, यदि बिमितको मृत्यु भएमा निजले इच्छाएको व्यक्तिले एकमुस्ट दाबी रकम भुक्तानी गर्ने योजना हो । यो योजनाअनुसार बीमितले तोकिएको अवधिसम्ममा बीमाशुल्क भुक्तानी गनुपर्दछ ।

बीमा समितिको तथ्यांक अनुसार गत आर्थिक वर्षसम्ममा सावधिक जीवन बीमा योजना अन्तर्गत ६ लाख ७० हजार २८६ वटा बीमालेखहरु बिक्री भएका छन् । सावधिक जीवन बीमा ४ लाख ८४ हजार ४१३ वटा, अग्रिम भुक्तानी सावधिक जीवन बीमा १ लाख ६ हजार ७३५ वटा र रुपान्तरित सावधिक जीवन बीमामा ७९ हजार १३८ वटा गरी कुल ६ लाख ७० हजार २८६ वटा बीमालेखहरु बिक्री भएको हो ।

गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा जीवन बीमा कम्पनीहरुले एक खर्ब १९ अर्ब ९० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको बीमा समितिको तथ्यांकले देखाएको छ । त्यसमध्ये ८८ प्रतिशत सावधिक जीवन बीमा योजनाले ओगटेको छ ।

बीमा कम्पनीहरुले सावधिक जीवन बीमामा ५० प्रतिशत अर्थात ५९ अर्ब ९७ लाख रुपैयाँ, अग्रीम भुक्तानी सावधिक जीवन बीमामा २४ प्रतिशत अर्थात २९ अर्ब १६ करोड रुपैयाँ र रुपान्तरित सावधिक जीवन बीमामा १४ प्रतिशत अर्थात १६ अर्ब ५३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको बीमा समितिले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार १६:१९   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।